२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

  • २०७७ माघ ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५६८ पाठक संख्या
  • वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ ।

    शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।

    पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

    अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।

    उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस