निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।
धुलिखेलमा सरोकारवाला बैठकमा मतदाता नामावली दाविविरोध गर्ने, अद्यावधिक गर्ने निर्णय गरेको छ । पुष ५ गते देखि मतदाता नामावली थप गर्न रोक लगाए पछि जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक शुरु गरिएको हो । माघ १६ र १७ गते हरेक पालिकामा सहायक नाम दर्ता अधिकारी मार्फत मतदाताहरुको नामावली गलत भएको भए, दोहोरो परेको भए वा अन्य केहि भएको अवस्थामा दावि विरोध गर्ने अधिकार दिईएको छ ।
निर्वाचन आयोगले स्थानीय सरकारको आवश्यक सल्लाह सुझावका आधारमा मतदान केन्द्रहरुको संशोधन अगाडि बढाएको जनाइएको छ । यससँगै जिल्लामा पनि कार्यालयले छलफल आयोजना गरेको छ । पहिलो चरणको काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिए ।
धुलिखेलमा बुधवार भएको छलफलमा आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्र बाहेक अरु मतदानस्थललाई अहिलेको लागि नचलाउन सुझाव दिए ।
विसं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकोमा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, पाँचखाल नगरप्रमुख महेश खरेल, पनौती प्रमुख भिम न्यौपाने, तेमाल गाउँपालिका प्रमुख सलामसिं लामा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगर उपप्रमुख विमला शर्मा, जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
तस्वीर सौजन्य मोतिराम तिमल्सिना
प्रतिक्रिया दिनुहोस