२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

केयूको उपकुलपतिमा माकाजुसहित तीन जना सिफारिस, प्राध्यापक संघको आपत्ति

  • २०७७ माघ ६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७४६ पाठक संख्या
  • सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

    केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए ।

    संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

    माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनैलाई फेरि सर्च कमिटीले तेस्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

    केयूका उपकुलपति डा. माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।

    केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन् । ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

    माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला वर्षौंदेखि चल्दै आएको भन्दै कतिपयले विरोधसमेत जनाएका छन् ।

    माकाजुलाई तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस गरेकोमा प्राध्यापक संघको आपत्ति

    काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति सिफारिस भएका तीन व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको छ।

    प्राध्यापक संघले आवेदकको नामावली र योग्यताको मापदण्ड प्रकाशित नगरी छनोट गर्नु अपारदर्शीसमेत भएको दाबी गरेको छ।

    संघले समितिमा एउटै व्यक्तिलाई पटक-पटक मनोनयन गरिनु र ती व्यक्तिले एउटै व्यक्तिलाई पटक-पटक उपकुलपतिका लागि सिफारिस गरिनु समग्र शिक्षा क्षेत्रमै गलत पद्धतिको उदाहरणका रुपमा चित्रित भएको दाबी गरेको छ।

    चार वर्षअघि पनि सर्च कमिटीमा शर्मा र ढुंगाना नै थिए। यसपटक पनि उनीहरू रहेको समितिले हालकै उपकुलपति माकाजुको नाम पहिलो नम्बरमा समावेश गरेको छ।

    माकाजु दुई कार्यकालसम्म उपकुलपति भइसकेका छन्। उनी तेस्रो कार्यकालका लागि ‘लबिङ’मा छन् र प्राध्यापक संघको आपत्ति पनि उनीतिरै लक्षित छ।

    ‘पटक-पटक आर्थिक, नीतिगतलगायत अन्य अनियमितता र विवादमा परेका, दुई वा दुईभन्दा बढी कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुन: सिफारिस गरिनुमा अनैतिक साँठगाँठ रहेको भन्ने आशंका पैदा हुन्छ,’ संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसो गरिनु सुशासन, लोकतान्त्रिक विधि, पद्धति र मूल्यमान्यता विपरीत छ।’

    प्राध्यापक संघले दुई कार्यकाल पूरा गरिसकेका उम्मेदवारलाई नियुक्त नगरी योग्य, सक्षम र कहीँकतै विवादित नभएको व्यक्ति उपकुलपति नियुक्त गर्न माग गरेको छ। त्यसले शिक्षाक्षेत्रको गरिमा र स्वाभिमान कायम हुने पनि संघको भनाइ छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस