बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो ।उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।
मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।
केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस