२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

मेलमिलाप दिवसमा काभ्रे काँग्रेसको पेशा, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजसँग अन्तरक्रिया

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८५५ पाठक संख्या
  • नेपाली काँग्रेस काभ्रेले ४५ औं मेलमिलाप दिवसको अवसरमा पेशा, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    जिल्ला कार्यसमिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको अन्तरक्रिया कार्यक्रममा होमस्टे, बैदेशिक रोजगार, कर्मचारी, यातायात, उद्योग, सामाजिक संघसंस्था, ट्रेड युनियन, सहकारी, गुम्वा व्यवस्थापनका बारेमा के कस्ता काम भईरहेका छन् तथा के समस्या छन् भन्ने विषयमा छलफल भएको थियो ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले काँग्रेसको मिशन भनेको जनतालाई लोकतान्त्रीक अधिकार दिनु भएको बताउँदै २०३३ सालमा विपी नेपाल फर्किएर मेलमिलाप नगरेको भए अफगानिस्थान हुने तर्क गरे । नेपालमा फेरी राजनैतिक दल एकजुट हुनुपर्ने दिन आएको भन्दै कसैको इच्छा अनुसार विदेशको चलखेल गर्न नहुने बताए । उनले नेकपाको सरकारले संविधानमा कहि कतै नभएको संसद विघटन गरेकोमा लामो लडाई बाट प्राप्त भएको संविधानलाई नेकपा सरकार त्यसमाथी प्रधानमन्त्री ओलीले विगारेको आरोप लगाए ।

    कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले कार्यकर्ताहरुलाई तीन वटा मोर्चामा काम गर्न निर्देशन दिए । सभापति आचार्यले अव काँग्रेसले आन्दोलनको मार्चा, निर्वाचनको (चुनाव) मोर्चा, तथा पार्टीको आन्तरिक अधिवेशनको मोर्चाको लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन । कार्यक्रममा नेपाली काँग्रेसका अग्रज नेता इन्द्रमणी अधिकारी, जिल्ला उपसभापति द्धय अच्युत पौडेल र गोविन्द थापा, प्रतिनिधि सभा क्षेत्रीय सभापति कञ्चन बादे, क्षेत्रीय सहसभापति महेश खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य एवं प्रवक्ता महेश पौडेलले राष्ट्रिय एकता तथा मेलमिलाप वर्तमान अवस्थामा मेलमिलापको औचित्य बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा रेडक्रसका बारेमा राजु सिग्देलले, होमस्टेको बारेमा सजय तामाङ, बैदेशिक रोजगारको बारेमा भोला भट्टराईले, निजामति कर्मचारीको बारेमा माया वादेले, यातायातको बारेमा निर्मलध्वज महतले, पत्रकारहरुको बारेमा रमेशप्रसाद न्यापानेले, उद्योगको बारेमा मञ्जुकुमार कोजुले, रोटरी लगायत सामाजिक संस्थाको तर्फवाट रञ्जिव श्रेष्ठले, ट्रेडको बारेमा उद्धव अधिकारीले, सहकारीको बारेमा योगराज दाहालले, गुम्बा व्यवस्थापनबारे रामेश्वर ढकालले समस्याहरु राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस