२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

प्रचण्ड–माधवसँग बहुमत छ : प्रधानमन्त्री ओली

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित २ साल अघि
  • २८९ पाठक संख्या
  • कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् ।

    प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ? माधव गुट छ । फेरि प्रचण्ड गुट । उसलाई उत्तिकै सिट दिँदाखेरि, दुईवटा मिल्दाखेरि बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ?’, ओलीले भने ।

    प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने पहिले नै बुझेको बताउँदै ओलीले भने, ‘५५र५६ वर्ष राजनीति गरेको, ५० वर्ष अगाडि नयाँ अभियान, नयाँ आन्दोलन थालेर आएको मान्छेलाई यतिका तिकडम ?’

    प्रधानमन्त्री ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि आफूले बहुमत संख्या दिएको बताए । ‘उहाँहरुलाई मैले दिएको त्यो संख्या, एकताका लागि दिइएको थियो । एकीकरणका लागि दिइएको थियो । यो देश बनाउनका लागि दिइएको थियो । संविधान कार्यान्वयन गर्नका लागि दिइएको थियो । स्थायित्वका लागि दिइएको थियो । देश अगाडि बढाउनका लागि दिइएको थियो । तर, उहाँहरुले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो’, ओलीको निष्कर्ष छ । अर्थात्, उनले प्रचण्ड र माधव माथि आरोप लगाउने क्रममा आफ्नो अल्पमत पनि स्वीकारे ।

    ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले ४४१ जसरी मनोनित भएका थिए, त्यसरी नै ११९९ केन्द्रीय सदस्य मनोनित भएकाले प्रचण्ड–माधव अल्पमतमा रहेको बताएका थिए । सँगै थापाले निर्वाचन चिन्हलाई प्राविधिक विषय भएकाले त्यसमा अल्मलिन नहुने तर्क गरे । निर्वाचन चिन्ह ठूलो कुरा नभएको सन्दर्भलाई पुष्टि गर्न २०६४ को निर्वाचनमा सूर्य चिन्ह हुँदा पनि नेकपा एमाले पराजित भएको थापाले बताए ।

    ‘संसद पुनर्स्थापना संविधानले दिँदैन’

    संसद पुनर्स्थापना नहुने भएकाले निर्वाचनमा जुट्न प्रचण्ड र माधव समूहलाई ओलीले आग्रह गरे । संसद पुनस्र्थापना गर्न संविधानले नै नमिल्ने ओलीको जिकिर थियो । ‘संसद पुनर्स्थापना संविधानले नै मिल्दैन । संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म । त्यस हिसाबले विघटनको सिफारिस गरेको छु, विघटन’, ओलीले भने ।

    यो ६४ प्रतिशत पार्टी फुट्नु अगाडि भएको पनि ओलीले प्रष्ट्याए । अब बाँकी ३६ प्रतिशतले सरकार नबन्ने भएकाले विघटन गरिएको ओलीको तर्क छ । राष्ट्रपतिविरुद्ध महाअभियोग र आफूमाथि अविश्वासको प्रस्ताव तयार भएपछि संसद विघटन गरेको पनि ओलीको भनाइ छ । राष्ट्रपति र प्रधानमन्त्री मात्रै नभएर अन्य संवैधानिक निकायका प्रमुखमाथि पनि महाअभियोगको तयारी भएकैले संसद विघटन गर्नु परेको ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस