वातावरणीय दीगोपनाका लागि युवा परियोजनाअन्तर्गत वातावरणीय अधिकार सम्वन्धका नीतिगत बहस कार्यक्रम आइतबार नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसमा युवाहरुको भूमिकाबारे छलफल भएको थियो ।
कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले वातावरणमैत्री नगर बनाउने चुनावी प्रतिवद्धताअनुसार नगरपालिकाले काम गरिरहेको बताए । प्रदुषणजन्य उद्योगहरुको विस्थापन, वातावरण संरक्षणका लागि प्रत्येक वडामा विभिन्न आयोजनाहरुको सञ्चालन गरिएको तिमल्सिनाले बताए । उनले बालमैत्री, वातावरणमैत्री र युवा मैत्री नगर बनाउने योजनालाई मुर्तरुप दिन नीतिगत व्यवस्थासहित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । युवाहरुलाई नेतृत्व विकासमा सघाउन विगतमा सुरु भएको को बन्छ मेयर कार्यक्रमलाई निरन्तरता दिने पनि उनले बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वातावरण संरक्षणमा नगरपालिकाले एक वडा एक चौतारो, एक वडा एक पोखरी लगायतका योजना बनाएर कार्यान्वयन गरेको बताए । नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वातावरण संरक्षणमा अन्य नगरको तुलनामा नमोबुद्ध नगरपालिका अगाडि रहेको बताउँदै आगामी दिनमा युवाहरुको सहकार्यमा थप कार्यक्रम अघि बढाउने बताए । कार्यक्रममा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले परिषदले नगरका युवा क्लबहरुसँगको सहकार्यमा आगामी दिनमा नेतृत्व विकास, उद्यम विकास लगायतका क्षेत्रमा काम गर्ने बताए । यस्तै ग्रामीण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले टिडिएच जर्मनीको सहयोगमा नमोबुद्ध नगरपालिकामा वातावरण संरक्षणका लागि विगत तीन बर्षदेखि कार्य गरिरहेको जानकारी दिँदै आगामी दिनमा अझै परिस्कृत कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
कार्यक्रमकै अवसरमा नमोबुद्ध नगरपालिकाभित्र रहेका २२ वटा युवा मध्ये ढोकेपाटी जुनियर युवा क्लबलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । यस्तै युवा स्वयंसेवक सुजन तामाङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । टिडिएच जर्मनीको सहयोगमा ग्रामीण विकास संस्थाले नगर युवा सञ्जाल सँगको सहकार्यमा वातावरणीय दीगोपनाका लागि युवा परियोजना सञ्चालन गरेको नगर युवा सञ्जालका अध्यक्ष सन्जीप न्यौपानेले जानकारी दिए । सञ्जालमार्फत युवामैत्री नगर बनाउन अभियान सञ्चालन गरिएको र त्यसैको फलस्वरुप नगर युवा परिषदको गठन भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस