२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

असंवैधानिक कदमको विरुद्धमा बनेपा र भकुण्डेमा काँग्रेसको विरोध प्रर्दशन

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित २ साल अघि
  • १४२९ पाठक संख्या
  • नेपाली कांग्रेस काभ्रेले सरकारद्धारा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रतिनिधि क्षेत्र अनुसार बनेपा र भकुण्डेबेशीमा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ को भकुण्डेबेशी र प्रतिनिधिसभा क्षेत्र नं २ को बनेपामा बिरोध प्रदर्शन गरेको हो । क्षेत्रनं १ को भकुण्डेमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य शिवपसाद हुमागाईले तथा क्षेत्र नं २ को बनेपामा भएको कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले संवोधन गरेका थिए ।

    नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नं १ को आयोजनामा भएको कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता नौविसेमा जम्मा भएर र्याली गरेका छन् । त्यस्तै क्षेत्र नं २ ले बनेपा गेदामचोकबाट शुरु गरेको विरोध र्याली बनेपा चादोवाटो, तीनदोवाटो, पुरानोबजार हुँदै गणेस्थानचोकमा गएर कोणसभामा परिणत भएको थियो ।


    बनेपाको बिरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कम्युनिष्ट पार्टीले नेपाली जनतालाई झुक्याएर मत लिएका कारण मुलुकमा पुनः अस्थिरता निम्तिएको बताए । केन्द्रीय सदस्य घिमिरेले नेकपा भित्र देखिएको घर झगडाले पुनः मुलुकलाई अस्थिरता तर्फ लैजान खोजिएको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र सरकारको अलोकतान्त्रिक चरित्रका कारण कांग्रेस बाध्य भएर जनताको साथका लागि सडकमा आउनुपरेको बताए ।

    भकुण्डेमा भएको कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संसद विघटनले देशमा रजनैतिक संकट ल्याएको बताए । बर्तमान प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानमा नरहेको बताउँदै केन्द्रीय सदस्य हुमागाईले करोडौं जनता सडकमा आएर बनाएको संविधानलाई नटेरी असंवैधानिक कदम चालेकोमा काँग्रेसले विरोध गरेको बताए । हुमागाईले काँग्रेसले आन्दोलन गर्ने वा नयाँ जनादेशमा जाने भन्ने विषयमा सर्वोच्चको आदेश अनुसार निर्णय गर्ने बताए ।

    बनेपामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले नेकपा सनक, दम्भ र असंवैधानिक तरीकाबाट चल्नु देशको लागि दुर्भाग्य भएको बताए । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ का सहभापति एवं प्रदेशका क्षेत्रीय सभापति महेश खरेलले नेकपा र त्यस पार्टीबाट प्रधानमन्त्री भएका केपी ओलीको नेतृत्वमा नाँगो नाच र संविधानमाथी बलत्कार भएकोले यसलाई जोगाउन ािरोध कार्यक्रम गर्नुपरेको बताए । नेकपा पछिल्लो समय गणतन्त्रलाई लुटतन्त्रमा परिणत गर्न खोजेको आरोप लगाउँदै नेकपा भित्र लुटतन्त्रलाई सहयोग नगर्ने नेताहरुलाई काँग्रेसमा स्वागत गर्ने बताए । प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति कञ्चनचन्द्र बादेको सभापतित्व, उपसभापति मानबहादुर तामाङको स्वागत तथा सचिव आनन्द सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेल, क्षत्रीय सभापति विदुरर घिमिरे, महिला संघ सभापति शुभलक्ष्मी मानन्धर, नेविसंघ जिल्ला अध्यक्ष नृपेश बादे लगायतले मन्तव्य राखेका थिए ।

    भकुण्डेमा भएको कार्यक्रम प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति तिर्थ लामाको सभापतित्व एवं सचिव गुणराज मोक्तानले सञ्चालन गरेको कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति गोविन्दबहादुर थापा, जिल्ला सचिव दिनेश लामा, नेताहरु इन्द्रमणी अधिकारी, तिर्थ पसखल, जिल्ला सह–सचिव इश्वरी ओझा, संविधान सभा सदस्य हर्षजित लामा र ललिता किङरिङ, पूर्व जिल्ला सचिव शंखबुद्ध लामा, प्रतिनिधि क्षेत्रीय सहसभापति एवं क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई, क्षेत्रीय सभापति राम योञ्जन, प्रदेश सभा उम्मेदवार सिवि लामा र गणेश लामा, नमोबुद्ध नगरसभापति कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं लामा लगायतले संसद विघटनबारे मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस