निलो आकाश केही शान्तिको संकेत गरेजस्तै महसुस गराउँछ, वरिपरी घेरिएका डाँडाहरुले सपनालाई कुन्ठित बनाएर आगामी यात्राको ढोका बन्द गरेको महसुस गराउँदछ । सानो खोला जुन हजारौं बज्रपात सहेर पनि आफ्नै गतिलाई निरन्तरता दिइरहको छु, सुनसान मन अनि एक्लिएको मलाई केही उत्साह थाप्दै छु । एक्लो हुनलाई मास रित्तिनुपर्ने रहेनछ, जब मन रित्तिन्छ नि भिडभित्र नै एक्लो भइँदो रहेछ, जब जिन्दगी बाँच्ने आधारहरु सकिँदै जान्छन्, साहाराहरु रित्तिदै जान्छन् तब सपनाहरु पनि हराउँदो रहेछन् । धर्ती फेरिएको छैन आकाशले पनि परिवर्तन हुनै संकेत दिएको छैन, प्रकृति आफ्नै गतिलाई निरन्तरता दिइरहेको छ । सबैलाई हेर्छु अनि आफूलाई नियाल्छु, सबैले हर परिस्थितिलाई निरन्तरता दिइरहेका छन् तर मेरो खुशीको बस्तीमा बार–बार बाढी पसेर तहसनहस बनाइरहेको छ, खुशीहरु छताछुल्ला भएर पोखिएका छन्, पोखिएका खुशीका टुक्राहरु सम्हाल्ने प्रयत्न जब गर्छु, विकृति, कुरिति, परम्परावादी सोचको ओत लगाएर बसेको मेरो समाजले म माथि हजारौं प्रश्नहरु गर्छ । गर्भमा प्रेमको निशानी छोडेर यस धर्तीबाट बिदा लिएका मेरो श्रीमान्को यादले मेरो छातिमा दन्किएको आगोमा तेल थपिरहन्छ । समय आफ्नै गतिमा चलिरहेको थियो तर परिस्थिति बदलिएको रहेछ ।
सदाझैं साँझमा आज मेरो श्रीमान् झुल्किएनन्, दियो बत्ती निभिसक्यो, पकाएको खाना निकै सेलाइसक्यो, भोकाएको मेरो पेट उहाँको पर्खाईमा भोक भित्र नै सेलाइसक्यो, मनमा ठूलै डढेलो लागिसक्यो । कहिल्यै ढिला नगर्ने श्रीमान् आज सम्पर्क शुद्ध विच्छेद गरेर हराइरहेका छन्, मन अत्तालेको छ, आफन्त सबैलाई जानकारी गराइसके । कोहि पनि खुलेर बोल्न चाहँदैन, सायद आफन्तीहरु पनि दुःखमा होइन रहेछन् । मन अत्तालेको छ, खुशीमा ग्रहण लाग्दै गएर पनि होला आँखाले केही ठम्याउन सकेको छैन, आत्मबल भने अझै बलियो बन्दै गयो, डर पनि खुशी हुँदा र साहरा दिनेको साथमा हुँदा मात्र लाग्ने रहेछ, आँसुले टिलपिल भएको आँखा र लगलग कामेको खुट्टाको सहारामा श्रीमान्को खोजीमा गन्तव्यविहिन यात्राको लागि केही पाइला अघि बढ्दै थिए, अचानक लास कता राख्ने भन्दै कराएको आवाज मेरो कानमा प¥यो, त्यो शब्दले मैले टेको पृथ्वी भासिएको महसुस भयो । आँखामा ठप्प कालो बादल लाग्यो, लालक लुलुक भएको मेरो खुट्टाले पनि मलाई सहारा दिन छोडिसकेको रहेछ । कति बेला मेरो शरीर भूमिमा बज्रियो थाहा पत्तो पाइनँ ।
लामो समयपछि आँखा खोल्दा हस्पिटलको सैयामाथि कृत्रिम अक्सिजनको साहारामा जिउँदो लास भएर सास फेरिरहेको रहेछ, मेरो डोला हातभरि चपक्क मिल्ने गरी लाएको राता चुरा फुटिसकेछन्, सिउँदो उजाडिसकेछ, रंगीन वस्त्रले सजिएको मेरो शरीर फिक्का फिक्का भइसकेछ । आफूलाई नियालें अनि अन्तिम पटक भए पनि उसलाई हेर्न मन लाग्यो, नधड्किएको छाती भए पनि सिरानी हालेर रुन मन लाग्यो तर यो ज्यूँदो लास हस्पिटल शैयाबाट उठाउन ढिला भएछ । उहाँ त सधैंको चितामाथि निदाएर जलिसक्नु भएछ । यता म हस्पिटलको शैयामाथि आँखा हेरि हेरि धड्कन चलि चलि जलिरहेको छु । हिजो हाम्रो जोडिलाई भगवान्ले बनाएको भन्दै तारिफ गरेर नथाक्ने आफन्तीहरु आज मेरो अनुहार हेरेर विचरा भन्दै सान्त्वनाको शब्द छोडेर आँखा मोडिरहेका छन् । केही दिनको हस्पिटल बसाईपछि उहाँले तिम्रो घर भनेर चिनाएको ठाउँ छिट्टै आउँछु भनेर छाडेर गएको ठाउँ त्यहीँ फर्किएँ । संसार त उजाडिएको थियो, खुशी रित्तिसकेको थियो, बच्चनी रहरहरु मरिसकेका थिए तर उसको प्रेमको निशानी गर्भमा हुर्किँदै थियो, त्यही निशानीलाई संसार देखाउनको लागि भए नि बाँच्ने अठोटका साथ आत्मबल बलियो बनाउँदै थिएँ तर के थाहा उहाँको बिदाइसँगै धेरै उपनाम जोडिसकेछन् । हस्पिटलको बेडबाट आत्मबल बलियो बनाएर श्रीमती हुनुको धर्म निभाउन सेतो वस्त्र बस्त्रीएर उजाडिएको शरीर लिएर उहाँको आत्मको चिरशान्ति कामना गर्दै र संस्कार अनुसार कोरा पस्न पुगेकी मलाई ठेलो काट्न नपाउँदै लोग्ने टोकुवा, अल्छिना आइमाई भन्दै त्यो ढोका सधैंको लागि बन्द गरिदिनुभयो ।
उहाँ त एकपटक जल्नुभयो, त्यो पनि धड्कन बन्द गरेर आज म पटक पटक जल्दै छु, धड्न चल्दाचल्दै खुशी रितियो, भिडभित्रै एक्लो भएँ, साहाराविहिन भएँ, गर्भमा कोपिला फक्रँदै थियो, फक्रिरहेको कोपिलालाई निमोठ्ने हिम्मत भएन र मृत्युलाई अँगाल्न सकिनँ । उसको प्रेमको निशानी त्यो गर्भको कोपिलालाई साहारा लिएर गन्तव्यविहिन यात्रा तय भयो । मलाई त्यो घरको ढोका मात्र होइन, बस्तीहरु पनि बन्द भएका रहेछन् । यात्रामा जति भेटिँदै गए, मलाई देख्दा लक्षिण लागेन भन्दै तकिएको देखेँ, साहारा त दिएनन् तर सान्त्वनाको शब्द समेत कसैले छोड्न सकेन, मेरो सामु पर्दा समेत अलछिन लाग्ने अरे म माथि बज्रिएका यि शब्दहरुले मलाई झनझन् गालिरहेको थियो तर मेरो गर्भमा हुर्किरहेको उसको प्रेमको निशानी सल्बलाएर साहारा संकेत दिँदै थियो । तिी माथि बज्रिएको शोक शक्तिमा बदल, विकृति भनिएको समाजमा तिमीमाथि भएको अन्यायसँग लड, गर्भमा सल्बलाएर यस्तै संकेत गराएको आभाष हुँदैछ । आत्मबल बलियो बनाए मेरो लागि ढोका लागेको बस्ती छोडेर स्वर्गीय श्रीमान्को याद र गर्भमा हुर्कँदै गरेको बच्चाको सहारामा जिन्दगीको संघर्षशील यात्राहरु अघि बढाएँ । भत्किएका खुशीहरु टाल्दै थुनिएका जिन्दगीको बाटोमा गोरेटो खन्दै तगारो बनेर बसेको विकृति, कुरिति, परम्परावादी सोचहरुसँग सामना गर्दै आज म सफल उद्यमी भएकी छु । एकल महिलामाथि हेर्ने नजर बदलौं, साथ र सहयोग गरौं ।
महिला अधिकारका बारेमा कलम चलाउने लेखिका उप्रेती रोशी गाउँपालिका वडा नं ६ की स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस