२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

  • २०७७ मंसिर २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • १२३३ पाठक संख्या
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ ।

    काठमाडौं, काभ्रे सहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो । कांग्रेसले सरकारको विरोधमा हालसम्मकै ठुलो खबरदारी सभा गरेको छ । विरोध स्वरुप काभ्रे जिल्लामा पनि हजारौँको संख्यामा उपस्थित भएका कांग्रेस कार्यकर्ताहरुले बृहत र्याली सहित बजार परिक्रमा गरेका थिए ।

    काभ्रेमा गोदामचोक पार्टी कार्यलयबाट सुरु भएको र्याली तीन दोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली राज्यका सबै अधिकार आफूमा राखेर केपी ओली जङ्गे बन्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीमा हुदै नभएका अधिकार प्रयोग गरेर ओली सरकार आफूलाई जङ्गे सम्झेर अगाडि बढ्दा मुुलुक पुनः अस्थितरता तर्फ गएको श्रेष्ठको भनाई छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले ओली सरकारका कारण राजतन्त्रबादी सडकमा आएको बताउदै संङघीय लोकतान्त्रिक गणतन्त्रण रक्षाका लागि कांग्रेस सडक र सदनमा आउन बाध्य भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताउदै मुलुकले पुनः निरकुंशताको कल्पना गर्न नसक्ने बताए । नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले नेकपा सरकारले पूर्वाग्राही, जोडघटाउ, नाफा घाटाको राजनीति अगाडि बढाएकाले मुलुकले परिकल्पना गरे अनुसारको दिशा पहिल्याउन नसकेको बताए ।

    जिल्ला उपसभापती द्वय अच्युत पौडेल र गोबिन्द बहादुर थापा लगायतले सम्बोधन गरेका थिए । उनीहरुले सरकारका गलत कामको भण्डाफोर, बरिष्ठ नेता पौडेलमाथीको सरकारको प्रहारका विषयमा चर्चा गरेका थिए ।

    विरोधसभामा पूर्व राज्यमन्त्री कन्चन वादे, पूर्व संसद तिर्थ लामा, क्षत्रीय सभापति महेश खरेल, रमेश हुमागाई, विदुर घिमिरे, राम लामा, प्रदेशसभा उम्मेदवार सिवी लामा, गणेश लामा, सुन्दरमणी आचार्य लगायत जिल्ला कार्यसमिति, विभिन्न नगर समिति, गाउँ समिति, वडा समिति, भातृ एवं सुभेच्छुक संघसंस्थाको सहभागिता रहेको थियो ।

    र्यालीमा सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको, चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार, ७० करोड कहाँ गयो, जस्ता नारा लगाएक थिए ।

    त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भए । बरिष्ठ नेता रामचन्द पौडेल काठमाण्डौ, महामन्त्री डा शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए ।

    कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको थियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस