जिल्लाकै पुरानो विद्यालय दाप्चा माविले नयाँ पक्की भवन पाएको छ ।
राणा प्रधानमन्त्री चन्द्रसंसेरको पालामा संस्कृत पाठशालाको रुपमा १९८६ सालमा स्थापना भएको विद्यालयले स्थापनाको ९१ वर्ष पछि एशियाली विकास बैक र नेपाल सरकारको आर्थिक सहयोगमा दुई वटा २१ कोठे पक्कि विद्यालय भवन पाएको हो । भुकम्प पछि भएको टहरो पनि भत्किएपछि विद्यालय पुनःनिर्माण गरिएको थियो । विद्यालय भवनको बुधवार एक कार्यक्रमका बीच उद्घाटन र हस्तान्तरण भएका छन् ।
साढे ८ करोड लागतमा निर्माण भएको विद्यालयमा २१ कोठा छन् । विद्यालय अपाङ्गमैत्री र बालमैत्री शौचालय, विद्यालयको कम्पाउण्ड सहित विद्यार्थीहरुका लागि आवश्यक पर्ने पूर्वाधार समेत निर्माण भएका छन् ।बुधवार एक कार्यक्रमका बीच बागमती प्रदेशका सदस्य संसद चन्द्र लामा, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भवनको उद्घाटन गरे ।
कार्यक्रममा मन्तब्य राख्दै बागमती प्रदेशका सदस्य संसद लामाले पुर्वी क्षेत्रको नाका दाप्चा लगायत आफ्नो क्षेत्रको विकासको लागि जो दिने बताए । दाप्चा माध्यमिक विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणसँगै अन्य ब्यवस्थापनका लागि बागमती प्रदेश सरकार र सरोकारवाला निकायबाट पहल गर्ने उनले बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले विद्यालयलाई प्राविधिक शिक्षा तर्फ अगाडी बढाउने गरी योजना बनाउन अनुरोध गरे । उनले नर्सिङ्ग विषय अध्ययनका लागि तयारी गर्न र प्राविधिक ज्ञान उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिए ।
स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक दिनेश अधिकारीले विद्यालयमा दरवन्दी अभाव भएकाले निमावी र प्रावि तहमा कार्यरत शिक्षकहरुले मावि तह संचालन गर्नु परेको गुनासो गरे । दाप्चा भेगकै पुरानो विद्यालय भएकाले यसको गरिमासँगै नमुना विद्यालय निर्माण गर्ने गरी शुरु भएको गुरु योजनामा सहयोग पुर्याई तत्काल दरवन्दीको ब्यवस्थापन गरी विद्यालयलको शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुर्याउन माग गरे । उनले पत्रकारहरुले विद्यालयको समस्याका बारेमा समाचार लेखेकै आधारमा विद्यालयमा पक्कि भवन बनेको जनाउँदै पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, पुनर्निर्माण प्राधिकरण शिक्षा समन्वय इकाईका प्रमुख देवकुमार बराल, नेपाल पत्रकार महासघंका अध्यक्ष मोतीराम तिमल्सिना, वडाअध्यक्ष शेर बहादुर तामाङ, नमोबुद्ध नगरका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल लगायतले विद्यालय शिक्षाका बारेमा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष बिल बहादुर श्रेष्ठको सभापतित्वमा र शिक्षक किशोर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
भवन निर्माण हुनु अघि बालबालिकाहरु पाटीमा बसेर अध्ययन गरिरहेका थिए । पुननिर्माणका लागि प्राथमिकतामा नपरे पछि पटक पटक संचारमाध्यममा उक्त विद्यालयका बारेमा समाचार प्रकाशन हुँदै आएको थियो । भुकम्प गएको पाँच वर्ष पछि उक्त विद्यालयमा पक्कि भवन निर्माण भएका हुन् ।
कार्यक्रममा विद्यालयको पुननिर्माणमा सघाउने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), इञ्जिनियर सोभित श्रेष्ठ, बाबुराम देवकोटा, सव–इञ्जिनियर गणेश मैनाली, श्रेया झा, सविन कायस्थ, परामर्शदाता, निर्माण व्यवसायीका प्रतिनिधी चेत लामा, दामोदर श्रेष्ठ, पत्रकार नगेन्द्र अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस