नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको छ ।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको हो ।
‘जिल्लामा मेरो पहलमा भएको विकास निर्माणको काम सम्पन्न भएपछि नगरपालिका र उपभोक्ता समितिले निमन्त्रणा गरेकाले म आएको हुँ । तर, सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न खोज्यो, पौडेलले भने । उनले आफूलाई जनतामाझ पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएको भन्दै यसले लोकतन्त्रको मर्ममा प्रहार भएको बताए ।
यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्ततः लोकतन्त्रलाई नै आघात पुर्याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ, उनले भने ।
प्रतिक्रिया दिनुहोस