२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

बाझाबाझ गर्दै नेकपा सचिवालय बैठक सकियो, पुनः भोली बुधवार १ बजे बस्ने

  • २०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४७७ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सचिवालय सदस्यहरुको चर्काचर्कीमा सकिएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ बीच चर्काचर्की भएको सचिवालय श्रोतले जनायो ।

    धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको थियो । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए । केक खानेवित्तिकै शुरु भएको सचिवालय बैठक बाझाबाझमै सीमित भएको थियो । एजेण्डामाथीको छलफलका लागि बुधबार दिउँसो १ बजे पुनः बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    छलफलको शुरुवातमै दुई नेताहरुको पत्र र प्रचण्डको प्रस्तावलाई बुकलेटका रुपमा प्रकाशित गरेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने प्रधानमन्त्री ओलीले अडान दोहोर्‍याए ।

    प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

    त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोले । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको प्रचण्डले बैठकमा बताए । उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने रु भन्दै उनी प्रचण्डमाथि खनिए ।

    त्यसपछि बैठकको माहौल थप बिग्रियो । ओली सँगसँगै प्रचण्ड पनि जंगिए । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको अर्को विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने रु’ भन्दै ओलीको प्रतिवाद गरे ।

    ईश्वर पोरेखलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे ।

    ‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

    सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए । उपाध्यक्ष गौतमले छलफल त सुरु भइसक्यो र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो भने ।

    वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । प्रवक्ता श्रेष्ठले छलफल गर्न पाइन्न भन्ने पनि हुन्छ र रु भन्दै प्रश्न गरे । नेता ईश्वर पोखरेलले प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने । रामबहादुर थापा बादलले पनि छलफल त सुरु भइसकेको छ भने । महासचिव विष्णु पौडेलले भने यसबारे केही नभन्ने बताए ।

    त्यसपछि प्रचण्डले फेरि बोले । बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्‍याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताए ।

    केपी ओली कुण्ठाग्रस्त बनेको र व्यक्तिवादी भएको भन्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । साथै उनले ३७ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने प्रचण्डले बताएका छन् । मंगलबारको बैठकमा भनाभन मात्रै भयो, प्रचण्डले ओलीको डकुमेन्टको औपचारिक जवाफ पेश गरेनन् ।

    स्रोतका अनुसार मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री ओलीविरुद्ध कडारुपमा प्रस्तुत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस