काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाले अस्पतालको शिलान्यास गरिएको छ ।
धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाले अस्पताल शिलान्यास गरेका छन् भने डाँडापारीका दुई पालिका खानिखोला र महाभारतले अस्पताल शिल्यान्यास गर्न सकेनन ।
महाभारतमा अस्पताल बन्ने केन्द्र बनखु र घर्तिछाप दुई स्थानको पत्र आएकाले एकिन हुन नसक्दा शिल्यान्यास भएन भने खानिखोलामा केहि दिन अघि जग्गा ब्यवस्थापन हुन नसक्दा शिल्यान्यास हुन सकेन । जग्गा ब्यवस्थापन भईसकेकाले आगामि १८ गते खानिखोला गाउँपालिकाले अस्पतालको शिल्यान्यास गर्नेछ ।
शिल्यान्याससँगै धुलिखेल नगरपालिकामा १५ शैया, भुम्लु गाउँपालिका र रोशीगाउँपालिकामा १०/१० शैयाको अस्पताल बन्ने भएका हुन ।
धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङ्गमा काभ्रे अस्पतालका रुपमा १५ शैया अस्पतालको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शिल्यान्यास गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झा, वडा अध्यक्षहरु बसन्त रानाभाट, पुस्प राउत, विष्णु काभ्रेली, हर्कबहादुर तामाङ, निराजन जंगम, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतले काभ्रे अस्पतालले नागरिकहरुको स्वास्थ्य सम्वन्धी आधारभुत आवश्यकता पुरा गर्ने बताए । दु्ई वर्ष भित्र निर्माण सम्पन्न हुने उक्त अस्पतालका लागि १८ करोड ६ लाख रुपैया खर्च हुनेछ । सरकारले ८५ लाख पहिलो किस्तामा पठाई सकेको छ ।
त्यस्तै रोशी गाउँपालिकाको खहरेपाँगुमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष डीबी लामा र अस्पतालका अध्यक्ष गणेश लामाले शिलान्यास गरे । खहरेपाँगुमा गाउँपालिकाले केहि दिन अघि कोभिडको अस्थायी अस्पताल उद्घाटन गरिसकेको थियो । गाउँपालिका अध्यक्ष डिबी लामाले खहरेपाँगु, शिखरआम्बोटे, नमोबुद्ध नगरपालिका र बेथान्चोक गाउँपालिकाका केहि वडाका नागरिकहरुलाई उक्त अस्पतालले सेवा दिने बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता गणेश लामाले रोशी मात्र नभई खानीखोला, महाभारत, बेथानचोकका गरी ५० हजार जनतालाई सेवा पुग्ने बताए । रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले धेरै महिला दिदीवहिनीहरु सुत्केरी हन नसकेर मृत्युबरण गर्नुपरेपनि अस्पताल निर्माण पछि उनीहरुलाई राहत मिल्ने बताईन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले अस्पताल निमाणको लागि १० करोड विनियोजन भएको तथा निर्माण सम्पन्न गर्न गाउँपालिका कठिबद्ध लाग्ने बताए । कार्यक्रममा रोशी १२ का वडा अध्यक्ष राम लामा लगायतले मन्तब्य राखेका थिए । २५ रोपनी क्षेत्रफलमा अस्पताल रहने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकीमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले शिलान्यास गरे । भुम्लुमा बन्ने उक्त अस्पतालले गाउँपालिकाका नागरिकहरुका साथै छिमेकी पालिकाका नागरिकहरु लाभान्वित हुने अध्यक्ष कुँवरले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका पाँच पालिकालाई अस्पताल निर्माणका लागि पहिलो चरणका लागि ८५ लाख रुपियाँ बजेट पालिकामा पठाएको छ । मन्त्रालयले १५ शैयाको लागि १८ करोड र १० शैया अस्पतालका लागि १०/१० करोड विनियोजन गरेको छ । सबै अस्पताल दुई बर्षमा अस्पताल सञ्चालनमा आउने छन ।
प्रतिक्रिया दिनुहोस