पनौती नगरपालिका वडा नं १०, खोपासीमा रहेको पनौती जलविद्युत उत्पादन गृहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शनिवार अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा गृहको गुणस्तरमा बृद्धि साथै क्षमतामा पनि बृद्धि हुने बताउँदै यस विषयमा ध्यानाकर्षण हुने मन्त्री पुनले बताए । यस भ्रमणलाई उपलब्धिमूलक भ्रमण रहेको र आगामी दिनमा काभ्रे जिल्लामा जलविद्युतको क्षमता अवलोकन र भविष्यको विषयमा खाका समेत मन्त्रालयबाट तयार हुने पुनले जानकारी दिए ।
एक फरक प्रसंगमा मन्त्री पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन्। मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गरे। नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे।
अवलोकनमा पुर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ, संविधान सभा सदस्य रामहरि सुवेदी, बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, पनौतीका नगर प्रमुख भीम न्यौपाने, नेपाल विद्युत प्राधिकरणका कामु प्रबन्धक निर्देशक ई. हितेन्द्रदेव शाक्यलगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस