२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

प्रधानमन्त्री वली र विपक्षी दल काँग्रेसका सभापति देउवा विच भेट, दुबै पार्टीमा तरंग

  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित २ साल अघि
  • ७११ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार दुई नेताबीच बालुवाटारमा भएको यो भेटले नेकपा मात्र होइन, कांग्रेससमेत तरंगित भएको छ ।

    कांग्रेस नेताहरुका अनुसार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनदेखि भेटका लागि प्रस्ताव गर्दै आएका थिए । नेकपाको घर झगडा चर्किरहेका बेला भेट्नु उचित नहुने भन्दै नेताहरुले बालुवाटार नजान सुझाएका थिए । तर, देउवा शनिबार बालुवाटार पुगे ।

    देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति आफूनिकट केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर बालुवाटार गएका थिए । भेटमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल भएको थियो ।

    स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्याबारे खुलेर कुरा गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावले आफ्नो पार्टी निकै संकटमा परेको उनले देउवालाई बताएका थिए ।

    प्रचण्डले प्रस्तावमा आफूमाथि लगाएको आरोप स्वीकार गर्न नसक्ने, तर पार्टी केन्द्रीय कमिटीसम्म पुगे बहुमतले पास हुने अवस्था रहेको उनले सुुनाएका थिए । ‘वामदेव गौतमले साथ दिनुभयो भने मात्र हो, नभए त्यो प्रस्ताव बहुमतले अघि बढ्यो भने म प्रधानमन्त्रीबाट हट्नुपर्छ’ ओलीको भनाइ उद्धृत गर्दै कांग्रेस स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कांग्रेसले साथ दियो भने म सरकारमा रहिरहन सक्छु ।’

    सत्ता सहयात्राबारे योभन्दा धेरै कुराकानी नभएको देउवा निकट एक नेताले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस