२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जिल्ला नगरको हैसियत देखाउने खालका कार्यक्रम ल्याउनेछौं : सुरकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेदवार

  • २०७७ मंसिर ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • २८४१ पाठक संख्या
  • म विगत दुई दशकदेखि यो क्षेत्रमा संलग्न छु । काभ्रेमा विभिन्न पद हुँदै दुई कार्यकाल अध्यक्ष र यसअघि खुलाबाट नेपाल उद्योग वाणिज्य महासंघमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको हुँ ।

    आगामी निर्वाचनमा पनि महासंघको केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अगाडि आएको छु । म ज्ञानकुन्ज शैक्षिक प्रतिष्ठानको अध्यक्ष, बच्छला एग्रिगेड, सुगम इन्टरप्राइजेज र रिलायन्सको बोर्ड डाइरेक्टरका रूपमा रहेको छु । जिल्लाको अध्यक्ष हुँदा होस् या केन्द्रमा हुँदा होस्, व्यावसायिक हकहितका लागि जहिले पनि लागिपरेको छु ।

    अहिले हामी आमव्यवसायीहरूको चिन्तामा छौं । म आफू व्यवसायी भएको हुनाले विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ लाई परास्त गर्नु हामी सबैको दायित्व हो । यसमा हामी सबैले यसले पारेको तहसनहसलाई साइजमा ल्याउन आवश्यक पनि छ । त्यसका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै दायित्व पूरा गर्ने प्रण गर्छु ।
    वस्तुगत र जिल्ला नगर बलियो भएका कारण चुनाव जित्नेमा ढुक्क छु । जिल्ला नगरको समस्या भनेको जिल्ला नगरमा आम्दानीको स्रोत छैन । विगत तीन–चार वर्षदेखि केही कार्यक्रम पनि भइरहेका छैनन् र जिल्ला नगरमा केही कार्यक्रम पनि दिन सकेको छैन । निर्वाचित भएपछि एउटा फन्ड संकलन गरेर जिल्ला नगरलाई परिचालन गर्न नेपाल सरकार र दातृ निकायसँग समन्वय गर्नेछौं । गत वर्षहरूमा जस्तै ओबीओपी कार्यक्रमहरू गर्नेछौं । महासंघमा आएको पैसा महासंघमा सबै नराखी जिल्ला तथा नगरमा पठाउनेछौं । विशेषगरी आगामी कार्यकालमा जिल्ला नगरको हैसियत देखाउने खालका कार्यक्रम ल्याउनेछौं ।

    विशेषतः जिल्ला र नगरलाई महासंघसँग जोडिने वातावरण बनाउने लक्ष्य छ । जिल्ला नगरबाट आउनुभएकाहरू उपाध्यक्षसम्म बन्ने गरेका छन् । वस्तुगत, जिल्ला नगर तथा एसोसिएटबाट आउने सबै साथीहरू एउटै रेन्जको आउने हुनाले अबको एक–दुई कार्यकालपछि यिनै साथीहरूले नेतृत्व गर्छन् । जिल्ला नगरबाट आउने केही साथीहरू टाढाको भएकाले केही गाह्रो पर्छ । काठमाडौं वरपरका साथीहरू अलि बढी अगाडि हुनुहुन्छ । हिजोको जस्तो पैसाको चलखेल अब हुँदैन । किनकि नबुझ्ने कोही छैनन् । सबै अध्यक्ष बुझ्ने भएकाले सजिलो छ । पहिला पैसाको धेरै नै चलखेल हुन्थ्यो । पैसालाई भन्दा एजेन्डालाई स्थापित गर्दै आइरहेका छौं । जिल्ला तथा नगरका अध्यक्ष पनि लोभीपापी छैनन्, जो पैसाका लागि मरिहत्ते गर्ने । सबै भोटरहरूले बुझि पनि सक्नुभएको छ कि पैसाको भरमा हैन, सक्षम र एजेन्डामा भोट हाल्ने भन्ने कुरा । त्यसो भएको हुनाले मलगायत सिंगो टिमले निर्वाचन जित्नेमा ढुक्क छौं ।

    यो पटक धेरै साथीहरूले उम्मेदवारहरूका बारेमा बुझिसक्नु भएको छ । उहाँहरूले एजेन्डा र सक्षम व्यक्तिहरूलाई चुन्नुहुनेछ, त्यसमा म विश्वस्त छु । एजेन्डा र सक्षम व्यक्ति चुन्न जिल्ला तथा नगरका अध्यक्ष लाग्नुभयो भने भोलिका दिनमा जिल्ला तथा नगरका साथीहरू पनि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न सक्नुहुनेछ । विभिन्न मिसन लिएर म चुनावी मैदानमा होमिएको छु । मलगायत हाम्रो टिमलाई मतदान गरेर अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस