२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नेवार समुदायको आत्म (म्ह) पूजा, हर्षोउल्लासका साथ गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा

  • २०७७ कार्तिक ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ११४३ पाठक संख्या
  • यमपञ्चकको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन मनाईने आत्म (म्ह) पूजा नेवार समुदायको घरमा हर्षोउल्लासका साथ मनाईदै छ ।

    नेवार समुदायका मानिसहरुले आज बेलुकी आत्म पूजा गरिरहेका छन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो । विगत वर्षजस्तै म्ह पूजा आज र भोलि सोमवार गर्नेमा नेवार समुदाय विभाजित भएका छन् ।

    नेपाल संवत्‌कै दिन आत्मपूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्हपूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

    त्यस्तै हिन्दु धर्माबलम्बीहरुले आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरेका छन् । गाईबाट आमाबाटजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा बसेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

    आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो–मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।

    आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस