प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभई म्याण्डेड अनुसार प्रधानमन्त्री भएको बताएका छन् ।
उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए । सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको बताए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने पनि दोहोर्याएका छन् ।
चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र जोगवनी–खाँदबारी–किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका हुन् । ५० ववर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बताए ।
पछिल्लो समय सत्तारुढ नेकपामा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढिरहेको छ । सचिवालयका बहुमत सदस्यले बैठकको माग गरिरहेका छन् भने अध्यक्ष ओलीले त्यसमा सहमति जनाएका छैनन् । पार्टी विवाद बढिरहेका बेला केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने अभिव्यक्ति ओलीले दिएका थिए ।
प्रतिक्रिया दिनुहोस