नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका ५ सचिवालय सदस्यहरुले आगामी २७ गते बिहीवार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ । प्रचण्डले मंगलवार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्दै कार्तिक २७ गते सचिवालय बैठक बस्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओलीसंगको भेट लगतै पार्टी कार्यालय धुम्वाराहीमा बसेको प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यको बैठकमा प्रचण्डले कार्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेको तर ओलीले कुनै जवाफ नदिएको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । २७ गते सचिवालय बैठक बस्नेमा विश्वस्त रहेको श्रेष्ठले बताए । पार्टी सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकमार्फत नै सबै समस्या समाधान गर्नुपर्नेमा जोड समेत दिएको श्रेष्ठले बताए ।
गत २२ गते सचिवालयका ५ सदस्य अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भेटेर लिखित रुपमा नै सचिवालय बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस