२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

‘बोक्सी’ भगाउन भन्दै सोह्र बर्षिय माताले बिरामीलाई पन्युँले डामेपछि ………

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ११२९ पाठक संख्या
  • काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ की ३७ वर्षीया शर्मिला विक गत शुक्रबार बिरामी परिन्।

    उनी काम्ने, नजिक भएका मान्छेहरूलाई चिथोर्न जाने र चिच्याउन थालिन्।

    शर्मिलाको परिवारका अनुसार उनलाई ‘छोप्ने’ व्यथा थियो। दुई वर्षअघिदेखि उनले डिप्रेसनको औषधी खाइरहेकी थिइन्।

    उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए। पाँच वर्षको वैदिशक रोजगारीपछि गत वर्ष मात्रै उनी नेपाल फर्किएका छन्। श्रीमान् विदेशमा हुँदा उनको माइतीले नै उपचारको व्यवस्था गरिदिएका थिए।

    औषधी खान सुरू गरेपछि शर्मिलाको दैनिकी सामान्य हुँदै गइरहेको थियो। कहिलेकाहीँ बिरामले च्यापे पनि पहिलाभन्दा निकै कमी आइसकेको थियो। तर, गत कात्तिक १५ गते अचानक उनलाई फेरि बिराम लाग्यो।

    ‘औषधी उपचारपछि नि दिदीलाई ठिक नभएपछि भिनाजुले घरबाट नजिकै रहेको नाम चलेकी मातालाई बोलाउनु भएछ, दिदीलाई बोक्सी लागेको भनेर माताले पुन्यूँले मुख र शरीरमा डामिदिइछन्,’ पीडितका भाइ दीपक रसाइलीले टेलिफोन सम्पर्कमा भने।

    रसाइलीका अनुसार उनीहरूले भान्जामार्फत् (शर्मिलाको छोरा) शुक्रबार राति नै घटनाको जानकारी पाएका थिए। ‘भान्जाले डराउँदै राति फोन गरेपछि हामी भोलिपल्टै दिदीको घर आयौं, उनले भने।

    कोसीपारिबाट माइती पक्ष शनिबार शर्मिलाको घरमा आउँदा पनि शर्मिलालाई अस्पताल लगिएको थिएन। उनको घरेलु उपचार मात्रै गरिएको अवस्थामा माइती पक्षले धुलिखेल अस्पताल लगे।

    धुलिखेल अस्पतालबाट उनीहरूले थप उपचारका लागि काठमाडौंको छाला अस्पतालमा लगे। अहिले शर्मिलाको काठमाडौंमा नै उपचार भइरहेको छ।

    ‘दिदीको अवस्था चिन्ताजनक छैन तर सामान्य पनि छैन। यस्तो अमानवीय काम गर्ने माताविरूद्ध मुद्दा हालेका छौं, आशा छ न्याय पाउँछौं,’ दीपकले भने।

    काभ्रे प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार यस घटनामा संलग्न आरोपमा पाँचखाल नगरपालिका वडा नम्बर १२ की माता भनिने १९ वर्षीया ईश्वरी थापाविरुद्ध गत शनिबार मुद्दा दर्ता भएको छ।

    ‘पीडितको घरबाट पीडक थापाको घरनजिकै रहेछ। साँझ छ बजे उनी काम्ने कराउने भएपछि माता भनिने थापाले आफूले यस्तो रोगको धेरैको उपचार गरिसकेको भन्दै पुन्यूँ तताउन लगाएर बोक्सी भगाउने भन्दै डामेको उजुरीमा उल्लेख छ,’ डिएसपी थापाले भने।

    ईश्वरी थापा अहिले प्रहरी हिरासतमा छिन्। गत डेढ वर्षदेखि पीडक थापा माताका रुपमा परिचित थिइन्। माताले नै तातो पुन्यूँले डाम्नपर्छ भनेको भन्ने शर्मिलाको परिवारको आरोप छ भने परिवारले डामिदिन दबाब दिएको माता भनिने ईश्वरी थापाले बताउँदै आएकी छिन्।

    आफूलाई कसले डामेको वा डाम्न लगाएको केही थाहा नभएको शर्मिलालाई उद्धृत गर्दै उनका भाइ दीपकले बताए। ‘दिदीलाई छोपेको बेलामा के भयो केही थाहा हुँदैन,’ उनले भने।

    तस्वीर मालती कुँवरको फेसबुक ।

    प्रतिक्रिया दिनुहोस