२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नेकपा विभाजन हुन सक्ने प्रधानमन्त्रीको चेतावनी

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३४८ पाठक संख्या
  • प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

    ‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग-अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ,’ दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’

    दाहालको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । ती नेताका अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।

    यसबाहेक सरकारलाई जनताप्रति उत्तरदायी बनाएर काम केन्द्रित गर्ने, पार्टी महाधिवेशन गर्ने र चुनावी तयारीमा लाग्नु नै अहिलेको विकल्प भएको नेताहरुको भनाई थियो । खुमलटार छलफलमा सहभागी नेताहरुले दाहाललाई ओलीसँग पुन: संवाद गर्न र एक्लै भेट नभए सामूहिकरुपमा छलफल गर्न सुझाव दिएका छन् ।

    यसअघि आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको जानकारी दिएका थिए । ‘यतिबेला नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछुु’ महासचिव पौडेलको ट्वीटमा छ ।

    केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका हुन् ।

    पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यही भेटमा प्रधानमन्त्री ओलीले अलगअलग जाने विकल्प अगाडि सारेपछि नेकपाको राजनीति फेरि एकपटक तनावपूर्ण बनेको छ ।

    इकान्तिपुरबाट साभार

    प्रतिक्रिया दिनुहोस