बेथानचोक गाउँपालिका ५ स्थित च्यासिंखर्कको घरघरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भएको छ ।
बेथानचोक गाउँपालिका वडा नं ५ का अध्यक्ष खजेन्चीबहादुर लामाको अगुवाईमा टोलका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय खुशी भएका छन् ।
दशैंको मुखमा वडा कार्यलयले घुम्ती प्रणालीबाट टोलटोलमा पुगेर भत्ता वितरण गरेपछि वृद्धवृद्धा र एकल महिलाहरु खुसी भएका हुन् । बृद्वभत्ता पाएपछि दशैं मनाउन सहज हुने भन्दै उनीहरु हर्षित छन् । उनीहरुले १ महिनाको ३ हजारको दरले चौमासिक भत्ता पाए ।
वडाबाट प्रवाह गरिने सेवा सुविधालाई छिटो छरितो र जनमैत्री बनाउने उदेश्यले दशैंलाई लक्षित गरी भत्ता वितरण गरिएको वडाले जनाएको छ । वडाले वाईबाडाँडा, च्याल्टी र मदनबासमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
वडा अध्यक्ष खजेन्ची बहादुर लामाले सामाजिक सुरक्षा भत्ता मात्रै नभई अब हरेक सेवा सुबिधा वाईबाडाँडास्थित नयाँ भवनबाट दिने अन्तिम तयारी भइरहेको जानकारी दिए । सबैलाई पायक पर्ने र लायकको ठाउँमा वडा कार्यालय बनेको समेत जानकारी दिनुभयो ।
वडाध्यक्ष लामाले वडा कार्यालयले बजेट बिनियोजन गरी टोलटोलमा पुग्ने मोटर बाटो पुर्याएकोले कार्यालयसम्म आउन सबैलाई सहज हुने दावी गरे । वाईबाडाँंडामा रहेको पुरानो संरचना द्वन्दकालमा तत्कालिन बिद्रोही माओवादीले जलाएपछि वडा कार्यालयको आफ्नो भवन थिएन ।
तस्वीर नमोबुद्ध खबरवाट
प्रतिक्रिया दिनुहोस