२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

बनेपा कोरोनाको हटस्पट बन्दै

  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • १९३४ पाठक संख्या
  • रासस /काभ्रेपलाञ्चोकको कोरोना संक्रमणमध्ये झण्डै ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा मंगलवार सम्म एक हजार तीन सय १५ मा कोरोना भाइरस संक्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात पाँच सय दशमा देखिएको हो ।

    हालसम्म बनेपाका २९८ पुरुष र २१२ महिलामा संक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थय कार्यालय काभ्रेका अनुसार बनेपामा ३ सय २ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म चारको मृत्यु भएको छ । हाल नगरमा २०८ सक्रिय संक्रमित छन् । नगरका दुई हजार ३९ को पीसीआर परीक्षणमा पाँच सयमा कोरोना संक्रमण देखिएको हो ।

    बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना संक्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हो ।

    यसैबीच, सातादेखि काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार मंगलबार ३१ संक्रमित थपिएसँगै जिल्लामा ४९८ महिला र ८१७ पुरुष संक्रमित भएका हुन् । कुल सक्रिय संक्रमितमध्ये मंगलसम्म धुलिखेलमा ३१ प्रतिशत अर्थात् १७९ छन् । पनौतीमा ७८, पाँचखालमा ३६, नमोबुद्धमा ३७, मण्डनदेउपुरमा ३६, रोशीमा १२, तेमालमा २, भुम्लु र बेथानचोक गाउँपालिकाको एकरएकजनामा संक्रमण देखिएको छ ।

    यसैबीच, काभ्रेपलाञ्चोकको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । काभ्रेपलाञ्चोकमा हालसम्म आठ पुरुष र ७ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये २४९ महिला तथा ४५३ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए ।

    पोष्टका अनुसार कूल संक्रमितमध्ये ६३ प्रतिशत पुरुष हुन् । हाल सक्रीय संक्रमितमध्ये १०४ अस्पताल र ४२४ होम आइसोलेसनमा उपचाररत छन् ।

    तस्वीर देवराज केसी

    प्रतिक्रिया दिनुहोस