२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

कैलालीमा बहालवाला असईको हत्या, प्रहरी जवान सम्पर्कविहीन

  • २०७७ कार्तिक २, आईतबार मा प्रकाशित २ साल अघि
  • ३४१ पाठक संख्या
  • कैलालीमा धारिलो हतियार प्रहार गरी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को हत्या भएको छ भने अर्का एक प्रहरी जवान अझै सम्पर्कविहीन छन् ।

    धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत असई गोविन्द विकको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महाननिरीक्षक उत्तम सुवेदीले बताए । असईको हत्या गरी मोहना नदीमा शव फालिएको अवस्थामा भेटिएको थियो ।

    प्रारम्भिक अनुसन्धानमा असई विकको हत्या गरेर फालेको देखिन्छ । असई विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए । २८ वर्षीय असई विकको घर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–९ को ख गाउँमा छ । सम्पर्कविहीन साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियाको ७ नम्बर बाहिनीको गोताखोर टोली परिचालन गरिएको छ । असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ ।

    आइतबार बिहान नेपाल–भारत सीमा हुँदै बग्ने मोहना नदीमा मृत अवस्थामा भेटिएका थिए । घटनास्थलमा उखु खेती छ । जहाँ घम्साघम्सी परेको देखिएको छ । रगतका छिटाहरू उछिटिएका छन् । एक जोडी चप्पल पनि भेटिएको छ । हत्यापछि घिसार्दै नदीमा शव फालेको हुन सक्नेप्रहरीले गरेको छ ।

    यसैबीच असईको हत्यामा संलग्न भएको आशङ्कामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी बिट जुगेडाका असई विकको हत्याका विषयमा सोधपुछका लागि ११ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम भने नखुलाइएको प्रहरीले जनाएको छ ।

    जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन् । कञ्चनपुरबाट जुगेडा पुगेका आफन्त र स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।

    तस्वीर सामाजिक सञ्जाल

    प्रतिक्रिया दिनुहोस