प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको भन्दै कम्युनिष्ट सरकारको मौनता गम्भीर राष्ट्रघात भएको बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ती जारी गर्दै चीनले सीमा मिचेको छैन भन्न हतारिएर सरकारले टिप्पणी गरेको बताएका छन्।
हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ, शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्रमार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो। सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा अध्ययन कार्यदल नाम्खा पुगेको भन्दै चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर अध्ययन गरेको कांग्रेसले जनाएको छ। अध्ययनले नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ।
प्रतिक्रिया दिनुहोस