२०७७ मंसिर १०, बुधबार | Wed, 25, Nov, 2020

डोको, डालोबाट स्वाबलम्बनको खुशी रोज्दै प्रेमप्रसाद

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित १ महिना अघि
  • १०७ पाठक संख्या
  • पहिले पहिले बिरामी भएपछि डोकोमा बोकेर अस्पताल पुर्याउने चलन थियो । अहिले बेथाञ्चोक गाउँपालिका वडा नं ४ डाडाँगाउँका प्रेमप्रसाद श्रेष्ठ विरामी हँुदा डोको बुनेर कमाएको पैसाले अस्पताल जाने गर्नुहुन्छ । समय परिवर्तनशिल छ । उहाँ १३ बर्षको राजनीतिक जिवन पछि व्यवसायी बन्नुभएको छ ।

    परम्परागत पेशाको रुपमा निकै प्रचलित रहेको डोको, डालो, नाम्लो, थुन्से, घुम, पेरुङ्गो र कोक्रो लगायतका बाँसको चोयाबाट प्रचलित सामग्री बनाउन निकै खप्पिस हुनुहुन्छ उहाँ । उहाँले डोको बोक्नको लागि धेरै प्रयोग हुने नाम्लो पनि बनाउनुहुन्छ । दिनको एक हजार रुपैँया ज्याला दिएर दैनिक रुपमा काम गर्नको लागि उहाँले २ जना कामदार पनि राख्नुभएको छ । उहाँले २ बर्ष अगाडी नै आफ्नो व्यवसायलाई दर्ता गराएर काम गर्नुभएको हो । राजनीतिक जिवन भन्दा व्यवसायिक जिवन निकै रमाइलो हुने श्रेष्ठको अनुभव छ ।

    प्रेमप्रसाद श्रेष्ठ, बेथाञ्चोक– ४ डाडाँगाउँ पेशाः डोको, डालो बुनाई

    निगालोबाट बन्ने डोको जस्तै अन्य धेरै सामग्री बनाउन उहाँ दक्ष हुनुहुन्छ । वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउन निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको श्रेष्ठ बताउनुहुन्छ । यही पेशाको कारण अहिले उहाँलाई घर खर्च चलाउन मात्र नभएर अन्य कुराहरुमा समेत सहयोग भएको छ । आजभोली डोको, डालो पहिले जत्तिकै प्रयोगमा आउँदैन तर श्रेष्ठलाई भने बजारको खाँचो छैन । आधा भन्दा बढी व्यापार घरबाट नै हुने गरेको छ । डोको, डालो, नाम्लो र थुन्से सबैन्दा बढी व्यापार हुने गरेको उहाँ बताउनुहुन्छ । यो बाहेक काभ्रे जिल्लाका विभिन्न ठाउँमा पनि उहाँले बनाउनुभएका सामग्री निकै प्रचलित छ । बाँकी बसेको सामान उहाँले पनौती बजारको २÷४ वटा पसलमा लगेर बेच्नुहुन्छ ।

    केही ठेकेदार पनि छन् उनिहरुलाई डोको, डालो, थुन्से दर्जनको हिसाबले दिने गरेको छु । ‘नाफा हुन्छ र त यो पेशामा छु ।’ उहाँ भन्नुहुन्छ, ‘मैले जति उत्पादन गर्न सक्यो मलाई उत्ति नै फाइदा हुन्छ । म आफुले सामान उत्पादन गर्दा जति लगानी हुन्छ त्यसको ५० प्रतिशत चाहीँ नाफा हुने गरी बेच्छु । सामान्य खालको डोको बनाउँदा मलाई २ सय रुपैँयासम्म पर्छ । मैले त्यसलाई बेच्नु पर्यो भने ३ सय रुपैँया सम्म बेच्ने गरेको छु । ग्राहकले कतिवटासम्म लिन्छन् भन्ने हुन्छ । सामानको आकार कति छ भन्ने पनि भर पर्छ । मैले काम गर्न राखेका मानिसहरुलाई पनि खाना खुवाएर म दिनको एक हजार रुपैँया दिन्छु । स्थानीय स्तरमा नै स्थानीय नागरिकलाई जागिर नै दिन सकेकोमा म खुसी पनि छु ।

    उहाँहरु आफैँलाई मैले सबै बनाउन लगाएँ भने दिनको ४ देखी ५ वटासम्ममात्र बनाउन सक्नुहुन्छ । उहाँहरुलाई चोया मात्र ठिक पार्ने काम लगाउने हो भने मैले ६ देखी ७ वटासम्म बनाउन सक्छु । यसमा पनि सामानको आकार कस्तो र कत्रो छ भन्ने कुरामा भर पर्छ । यो चाहीँ डोकोको कुरा भयो । अब डालो, थुन्से र कोक्रो लगायतका कुराहरुमा पनि यस्तै खालको कुरा हुन्छन् ।’ स्थानीय स्तरमा रहेको समामुदायिक वनका अध्यक्ष समेत रहेका श्रेष्ठलाई कच्चा सामग्री जस्तै निगालो र बाँसको लागि पनि कुनै समस्या छैन । आफ्नै जग्गामा निगालो र बाँस छन् । नपुगेको खण्डमा समामुदायिक वनबाट बाँस अनि निगालोको व्यवस्थापन गर्नुहुन्छ । यसो गर्दा वनको आयस्रोत समेत बढ्ने उहाँ बताउनुहुन्छ । बनाएका सामाग्रीमा अहिलेसम्म खासै नकरात्मक कुरा आएका छैन । मानिसहरुलाई कस्तो प्रकारको सजिलो हुन्छ त्यही अनुसारको सामान उहाँले उत्पादन गर्दै आउनुभएको छ । ‘अरु पेशा व्यवसाय जस्तै मेरो व्यवसायमा पनि बजारमा प्रतिशपर्धा हुने गरेको छ ।’ श्रेष्ठ थप्नुहुन्छ, ‘जे होस् म मेरो पेशामा टिकेको छु । मैले उत्पादन गर्ने गरेको सामान ग्रामिण क्षेत्रमा मात्र होइन बजार क्षेत्रमा पनि उत्तिकै बिक्ने गरेको छ ।’ हुन त अहिले पहिले जसरी नै डोको डालोको प्रायोग हँुदैन तर डोको डालो घाँस दाउराको लागि मात्र प्रयोग नभएर अन्य कामको लागि पनि प्रयोग हुने भएकाले यो निकै रुचाईने उहाँ बताउनुहुन्छ । नेपाल कृषि प्रधान देश भएकाले कृषिजन्य सामग्री ओसार पसार तथा अन्य कामको लागि पनि यी सामग्री निकै उपयोगि छ । त्यसकारण अहिलेका युवा वर्ग यो पेशामा लाग्नुपर्ने उहाँ बाताउनुहुन्छ । अहिले समाज आधुनिकतातिर लम्किए पनि डोको डालो नै प्रयोग गर्न छाड्ने दिन तत्काल आइहाल्ला भन्ने पनि हँुदैन ।

    ५६ बर्षिय श्रेष्ठ आफुले जानेको पेशा युवा वर्गमा हस्तान्तरण गर्ने पक्षमा लागिरहनुभएको छ । घाँस दाउराको लागि मात्र नभएर अन्य कुरामा पनि निगालो र बाँसको माग बढ्दो मात्रामा छ । उहाँ भन्नुहुनछ, डोकोलाई फोहोर फाल्ने डष्टबिनको रुपमा राख्न सकिन्छ, गमला जस्तो बनाउन सकिन्छ । विभिन्न सजावटको सामान बनाउन सकिन्छ । त्यसैगरी यसलाई हामी कलम, ब्रुस, मञ्जन लगायतका सामान राख्नको लागि पनि प्रयोगमा ल्याउन सक्छौँ । जुन बजारमा विदेशबाट आएका सामानको तुलनामा धेरै सस्तो र प्रभावकारी पनि हुन्छ । उहाँलाई यसको लागि निकै अर्डर पनि आउने गरेको छ । बजार क्षेत्रमा खोलाका आसपासमा बालुवा गिट्टी बोक्नको लागि पनि निकै प्रयोगमा आउने गरेकोछ ।’

    उहाँको अबको दिनमा योजना भनेको युवाहरुलाई आफुले जानेको पेशा सिकाउनु हो । परम्परागत सिपलाई जोगाउनुको साथै युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन उहाँले प्रयास पनि गरिरहनुभएको छ । परम्परागत बाँस र निगालोबाट बन्ने सामानको संग्राहलय बनाउने उहाँको उद्देश्य पनि छ । पुरानो पेशा भएकाले आफुले बाउ बाजेबाट नै सिकेको र आफुभन्दा पछाडीका पुस्तालाई पनि सिकाउने उहाँले बताउनुभयो ।

    आधारभुत तहसम्मको अध्ययन गर्नुभएका उहाँ पञ्चायतकालमा ३ बर्षसम्म वडा अध्यक्ष पनि बन्नुभएको थियो । लामो समय राजनीतिक यात्रापछि अहिले व्यवसायमा मग्न श्रेष्ठ आफ्नो पेशामा निकै सन्तुष्टि भएको बताउनुहुन्छ ।

    काभ्रेबाट प्रकाशित पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस