२०७७ मंसिर ९, मंगलबार | Tue, 24, Nov, 2020

कोभिडका कारण मर्कामा पर्न थाले नसर्ने रोगका बिरामीहरू

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित १ महिना अघि
  • १०९ पाठक संख्या
  • नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्ने क्रम रोकिएला भन्दाभन्दै दिनहुँ बढ्ने क्रममा छ । रेफरल अस्पतालहरूसमेत कोभिड–१९ संक्रमित अस्पतालमा रूपान्तरण भइरहेका छन् । यतिखेर नसर्ने रोगका बिरामीहरू कोभिड–१९ संक्रमणको दोहोरो जोखिममा पर्न थालेका दृष्टान्तहरू अस्पतालमा देखिन थालेको छ ।

    नसर्ने रोगकै कारण लामो समयदेखि औषधि सेवन गर्दै आएका र नियमित चेकजाँच गराउनु पर्ने बिरामीहरूले सेवा पाउन नसकेको अवस्था सुरू भइसकेको छ । एकदमै कष्टकर दैनिकी बिताउन बाध्य व्यक्तिहरूलाई नसर्ने रोगले एकातिर शारीरिक अशक्तता निम्त्याउन सक्छ भने अर्कोतिर ठूलो आर्थिक भार थप्ने गरेको देखिन्छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा नसर्ने रोग सम्बन्धी प्रभावकारी नीति, सहज र सर्वसुलभ उपचार प्रणाली नभएकाले नागरिकले थप सास्ती पाउने चिकित्सकको भनाई छ ।

    ‘नसर्ने रोग भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगको समूह जसमा उच्च रक्तचाप, मुटु तथा रक्तनलीका समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्याआदि पर्छन् । यस्ता रोगहरू एउटा निश्चित कारक तत्व भन्दा पनि धेरै कारणहरूको संयुक्त असरबाट हुने गर्छ । अस्वस्थकर खानपान, अल्छीपना, मानसिक तनाव, धूमपान, मध्यपान, लागूऔषध सेवनजस्ता कारक तत्वले नसर्ने रोगलाई बढावा दिइरहेको हुन्छ । अर्कातिर तीब्र गतिमा बढिरहेको आधुनिकीकरण, सहरीकरण, औद्योगिकीकरण र कमजोर सरकारी नीति पनि उत्तिकै दोषी ठहरिन्छ’, डा. असीम महतले भन्नु भयो ।

    नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा तीन वर्ष अघिदेखि नसर्ने रोगसम्बन्धी (पेन) कार्यक्रम ५१ जिल्लामा लागू गरेको र आगामी आर्थिक वर्षबाट ७७ वटै जिल्लामै लागू गर्ने योजना राखेको उहाँको भनाई छ । तर यो कार्यक्रम हाम्रो काभ्रेपलाञ्चोक जिल्लामा लागू भइनसकेको हुँदा आम काभ्रेलीहरू सेवा लिनका लागि रेफरल अस्पताल नै बाधउन बाध्य हुँदै आएका छन् । यदि नसर्ने रोगसँग सम्बन्धित सेवा सञ्चालन (पेन) कार्यक्रम लागू भएको भए हाम्रा गाउँमा स्थापना भएका स्वास्थ्य संस्थाहरू (तोकिएको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी) मा कार्यरत चिकित्सक, स्वास्थ्य सहायक र सि.अहेव, पब्लिक हेल्थ नर्स, स्टाफ नर्स र अनमीले स्थानीय स्तरमै यो सेवा दिने अवस्था रहन्थ्यो ।

    काभ्रेपलाञ्चोक जिल्लाका दुई ठूला धुलिखेल र शीर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरू समेत क्रमशः कोभिड–१९ संक्रमित हुन थालेपछि नसर्ने रोगका बिरामीहरू अस्पताल जानसमेत डराउन थालेका छन् । काठमाडौं उपत्यकाका नामी भनिएका अस्पतालमा पुगेका बिरामीहरू अस्पतालबाट फर्कँदा कोभिड–१९ संक्रमित भएका उदाहरणहरूलेसमेत आम काभ्रेलीहरू झस्केका छन् । यही भएर पनि अत्यावश्यक पर्दासमेत रोग पाल्दै बसिरहेको धेरै घटनाहरू आइरहेका छन् । ‘ब्लडप्रेसर र सुगरको मात्रा त घरमै जाँच्न सकिएला । तर, रगतमा कोलेस्टेरोलको मात्रा, मुटु र मिर्गौलाको जाँच, फोक्सोको काम गर्ने क्षमताको जाँच र डाक्टरको सल्लाह बमोजिम अरू जाँच गर्नु पर्ने हुन्छ । अब यी सेवाहरू कसरी लिने हो । हामी त ज्यादै मर्कामा पर्न थाल्यौं’, २० वर्षदेखि अस्पतालमै नियमित चेकजाँच गराइरहनु भएका एक जेष्ठ नागरिकले गुनासो गर्नुभयो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत नसर्ने रोगका बिरामी र दीर्घरोगीहरूलाई कोभिड–१९ को उच्च जोखिम रहेको भन्दै आएको छ ।

    नसर्ने रोगहरूले लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने भएकाले बेलामै थाहा हुँदैन । मुटु तथा रक्तनलीको रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र क्यान्सर (स्तन र पाठेघरको मुखको) लाई प्रमुख ४ नसर्ने रोगहरूको रूपमा लिने गरिन्छ । यतिमात्रै नभई नसर्ने रोगहरूको उपचारमा धेरै ठुलो धनराशीको खर्च हुने भएकाले मध्यम र निम्नवर्गीय परिवारहरू उपचारमा लागेको खर्चका कारण गरीब बन्दै गरेका धेरै दृष्टान्तहरू रहेका छन् । झन कोभिड–१९ संक्रमण बढ्दै गरेको अवस्थामा नसर्ने रोगका बिरामीहरूले आफ्नोभन्दा पनि परिवारको बढी चिन्ता र उनीहरूको स्वास्थ्य सुरक्षामा बढी ध्यान दिनु परेको अवस्था छ । अर्कातिर रोजगारी गुमेको र रोजगारी नपाइने अवस्था कोभिड–१९ बाट सिर्जिँदा यस्ता बिरामीहरू झन मारमा परेका छन् ।

    धुलिखेल अस्पतालको सामुदायिक विभागकी डा. आभा श्रेष्ठका अनुसार नेपालजस्ता विकासोन्मुख देशका नागरिकहरू बिस्तारै नसर्ने रोगहरूबाट प्रभावित हुन थालेका छन् । ‘नसर्ने रोगबाट पाको उमेरका मानिसहरू बढी प्रभावित हुने गरेकामा पछिल्ला वर्षहरूमा यसले युवा समूहलाई पनि आक्रान्त पार्न थालेको छ । नेपाली युवा खासगरी दम, जन्मजात मुटु रोग, बाथ रोग, मिर्गाैला रोग, रक्तकोषहरूमा असामान्य वृद्धिबाट लाग्ने क्यान्सर रोग, लिम्फोमास क्यान्सर, सिकलसेल एनेमिया, टाइप–वान मधुमेह रोगका कारण बढी प्रभावित भएका छन्’, उहाँले भन्नुभयो ।

    यसैवीच, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक भर्चुअल कार्यक्रममा पनि नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको विज्ञहरुले निष्कर्ष निकालेका छन् । कार्यक्रममा डा. अभिनव वैद्यले नसर्ने रोगले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गर्नुहुँदै यी रोगबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी रोगबाट बच्न अब सोच्नुपर्ने बेला आएको छ । चालीस वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवा नसर्ने रोगबाट प्रभावित बनेका छन्’, उहाँले थप्नुुभयो । यस्तै डा. सरोज निरौलाले नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गएको बताउँदै उहाँले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । तर, नसर्ने रोगले ग्रस्त भएका बिरामीहरुलाई विशेष हेरचाह गर्ने अस्पतालहरुको प्राथमिकता यतिखेर कोभिड–१९ संक्रमितहरुको उपचारमा केन्द्रीत रहेकाले यस्ता बिरामीहरु ज्यादै मर्कामा पर्न थालेका छन् ।

    नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेको छ । नेपालीहरू मुख्यतया तीन फरक–फरक प्रकृतिका स्वास्थ्यसम्बन्धी समस्यासँग जुझिरहेका बताइन्छ । जसमा सर्ने रोग, नसर्ने रोग र प्राकृतिक विपद्बाट हुने जोखिम, सडक दुर्घटना, हिंसा र चोटपटकका कारणबाट हुने स्वास्थ्य समस्याआदि । मुलुकको वर्तमान स्वास्थ्य प्रणालीलाई समायानुकल सुधार गर्दै चुस्त र व्यवस्थित बनाउन जरूरी रहेको कुरा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिले समेत आंैल्याएको छ ।

    समाचारमा प्रयोग भएको तस्वीर सामाजिक सञ्जाल

    काभ्रेबाट प्रकाशित पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस