सरकारले कोरोनाको रिपोर्ट छिटो आउने प्रविधिसहितको एन्टीजेन किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टेजेन किटमार्फत कोरोना परीक्षण गर्न सकिने गरी कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनमा परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाइडलाइनलाई चौथो पटक अपडेट गर्दै ‘क्राइट एरिया फर एन्टीजेन बेस टेस्टिङ’ समावेश गरिएको जानकारी दिए।
उनले एन्टीजेन किटबाट परीक्षण गर्दा चाँडो रिपोर्ट आउने र धेरै जनाको छोटो समयमा परीक्षण गर्न सकिने भएकाले यसको प्रयोग गर्न लागिएको बताए।
मन्त्रालयले परिवर्तन गरेको गाइडलाइनमा एन्टीजेन टेष्टको रिपोर्ट पोजेटिभ आएमा संक्रमित व्यक्तिलाई आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ। यदि कसैको रिपोर्ट नेगेटिभ आयो र उसमा लक्षण छैन भने उसको परीक्षण नगरिने गौतमले बताए। तर एन्टीजेन टेष्टको रिपोर्ट नेगेटिभ आएका र लक्षण भएका व्यक्तिलाई आइसोलेसनमा राखिने र पीसीआर परीक्षण गरिने गौतमको भनाइ छ।
केही निजी कम्पनीले सरकारसँग अनुमति लिएर एन्टीजेनको परीक्षण ल्याब टेष्ट गरिरहेका छन्। प्यासिफिक समूहले धुलिखेल अस्पतालमा एन्टीजेनको परीक्षण गरिरहेको छ। उनीहरुले पीसीआर परीक्षण गरिएकै स्वाबमा एन्टीजेन टेष्ट गरेर एकुरेन्सी हेरिरहेका छन्।
‘पीसीआर र एन्टीजेनको रिपोर्टको समानता कति मिल्छ हेरेर मात्रै हामी बजारमा जाने प्यासिफिक ग्रुपले जनाएके छ । उनीहरुले अमेरिकाबाट एन्टीजेन टेष्ट किट र मेसिन ल्याइसकेका छन् ।
एन्टीबडी टेष्ट र एन्टजेन टेष्ट दुई प्रकारका टेष्ट हुन्। यी दुवै शरीरमा भाइरस छ कि छैन भनेर परीक्षण गर्ने विधि हो। यद्यपी एन्टीबडी टेष्टले कोरोना नै हो भनेर रिपोर्टमा ठम्याउन सक्दैन। सरकारले सुरुमै पीसीआर गर्न छाडेर एन्टीबडी टेष्ट गरेको थियो। तर, चौतर्फी विरोध भएपछि सरकारले यो टेष्ट बन्द गरेको हो। अहिले भने सरकारले एन्टीजेन टेष्ट गर्न कार्यविधि तयार गरेको छ। एन्टीजेन टेष्टबाट व्यक्तिमा कोरोना संक्रमित छ वा छैन भन्ने पत्ता लगाउन सकिन्छ। र, यसको अर्को सकारात्मक पक्ष छिटो रिपोर्ट आउने हो । यसले बढीमा १० मिनेटमा नतिजा दिने भएकाले तत्काल गर्नुपर्ने काममा कोरोना संक्रमित कोही पनि नहोउन् भन्न यो परीक्षण प्रभावकारी मानिन्छ। एन्टीजेन टेष्ट पनि पीसीआर जस्तै स्वाबबाट परीक्षण गर्ने विधि हो। पोर्टेबल सानो मेसिनमा किट राखेर यसको परीक्षण गरिन्छ। टेष्ट गर्ने बेला एन्टीजेन टेष्ट किटलाई न्यूनतम २ डिग्री र अधिकतम ३० डिग्रीको तापक्रमको बीचमा राख्नुपर्ने छ।
प्रतिक्रिया दिनुहोस