२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आईपीएल : बेंग्लोरले कोलकातालाई ८२ रनले हरायो

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६१२ पाठक संख्या
  • रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ ।

    सात खेलमा बेंग्लोरको यो पाँचौं विजय हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको जस्तै समान १० अंक भए पनि कमजोर रनरेटका कारण बेंग्लोर तेस्रो स्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा रह्यो ।

    १ सय ९५ रनको लक्ष्य लिएर आएको कोलकाताले ९ विकेट गुमाई १ सय १२ रनमात्र बनाउन सक्यो । शुभमन गिलले ३४ तथा एन्ड्रयु रसेल र राहुल त्रिपाठीले समान १६ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । बेंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले २–२ तथा नवदित सैनी, मोहम्मद सिराज, युजभेन्द्र चाहल र इसुरु उडानाले १–१ विकेट लिए ।

    यसअघि एबी डी भिलियर्सले ३३ बलमा अविजित ७३ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले शारजहाँ क्रिकेट रंगशालामा १९४–२ को स्कोर बनाएको थियो । उनले रसेलको बलमा छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पूरा गरेका थिए । डी भिलियर्सले कुल ५ चौका र ६ छक्का प्रहार गरे । आरोन फिन्च १३ औं ओभरमा आउट भएपछि डी भिलियर्स क्रिजमा आउँदा कप्तान विराट कोहली १४ बलमा ११ रन बनाई क्रिजमा थिए ।

    कोहलीले २८ बलमा १ चौकासहित ३३ रन बनाए । फिन्चले देवदत्त पाडिक्कलसँग ८ ओभरभित्र ६७ रन जोड्दै बेंग्लोरलाई राम्रो सुरुआत दिलाएका थिए । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरी उनी ३२ रन बनाई रसेलको बलमा बोल्ड भए । फिन्चले पनि प्रसिद्ध कृष्णको बलमा बोल्ड हुनुपूर्व ३७ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस