नमोबुद्ध नगरपालिकाले नगर भित्र रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको छ ।
नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि र सरोकारवालासँग छलफल अघि बढाएको छ । शिक्षा समितिको आइतबार बसेको बैठकमा सहभागी निजी विद्यालयका प्रतिनिधिसमेत नगरपालिकाको प्रस्तावमा सकारात्मक देखिए । हाल नमोबुद्ध नगरपालिकामा सातवटा निजी अर्थात संस्थागत विद्यालय रहेका छन् । तीमध्ये नगरपालिकाको केन्द्र भकुण्डे क्षेत्रमा पाँचवटा विद्यालय रहेका छन् । नगरभित्र अत्याधुनिक र प्राविधिक शिक्षा दिनेगरी शैक्षिक संस्था स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्यको पहल गरिएको नगरपालिकाको शिक्षा समितिका संयोजकसमेत रहेका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
नगरभित्रका निजी विद्यालयहरु मिलेर आपसमा एकीकरणसहित शैक्षिक संस्था स्थापनाका लागि तयार भए नगरपालिकाले जग्गासहित आवश्यक सहयोग गर्ने तिमल्सिनाले बताए ।
स्थानीय बुद्ध एकेडेमीका संस्थापक कुमार दाहालले आफ्नो विद्यालयलाई सामूदायिक बनाउन तयार रहेको भन्दै आवश्यक नेतृत्वका लागि नगरपालिकालाई आग्रह गरे । ग्रामीण पाठशालाका विदुर भण्डारीले नगरपालिकाले अघि सारेको प्रस्ताव सकारात्मक भएको बताए ।
स्थानीय जनक मावि व्यवस्थापन समितिका अध्यक्ष भरत दाहालले प्राविधिक शिक्षालयको अवधारणा राम्रो भए पनि सञ्चालनमा कठिनाई रहेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति भोलाप्रसाद चापागाईंले विद्यालयहरुबीच एकीकरणमा सघाउन नगरपालिका तयार रहेको र विकल्पका रुपमा गुठी विद्यालयको मोडलमा जान सकिने बताउँछन् ।
नगरपालिकाको शिक्षा समितिका सहसंयोजक एवं वडाअध्यक्ष कृष्णवहादुर तामाङ तथा अर्का वडाअध्यक्ष रामकृष्ण उपाध्यायले निजी विद्यालयहरुले कार्यविधि बनाएर ल्याए मर्जबारे नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरेर आवश्यक निर्णय लिन सकिने बताए ।
नमोबुद्ध नगरपालिकामा हाल ४० वटा सामूदायिक विद्यालय रहेका छन् । नगरपालिका शिक्षा शाखा संयोजक उपसचिव जनार्दन रिजालका विगतमा ४७ वटा विद्यालय रहेकामा विद्यार्थी संख्या नपुग भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयसँग एकीकरण गरेर ४० वटा विद्यालय कायम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस