मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा बलात्कारको घटना मिलापत्र गराइएको छ ।
पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ ।
उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन् ।
धनपालथान गाउँपालिकाकी एकजना २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना जनप्रतिनिधिले गाउँमै मिलापत्र गराएका हुन् । मिलापत्रमा दुईजना जनप्रतिनिधिसहित स्थानीय पञ्च भलाद्मीले हस्ताक्षर गरेका छन् ।
घटनामा पीडित भनिएकी युवती अर्काको घरमा काम गर्न बस्थिन् । ३३ वर्षका युवकचाहिँ जनप्रतिनिधिका नातेदार हुन् ।
घटना बिवरण
घटना गत २४ भदौ बेलुका ६ बजेतिरको हो । स्थानीयका अनुसार धनपालथानमा नहर छेउको धानबालीमा युरिया मल छर्न गएका बेला बेलबारी नगरपालिका– ८ का ३३ वर्षीय सुरेश खवास २१ वर्षीया युवतीलाई करणी गरेका थिए ।
बेलुका धानबारीमा खवासले जवरजस्ती करणी गरेको आफन्तको आरोप छ । धानबालीमा आपत्तिजनक अवस्थामा भेटेपछि खवासलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
पीडित युवतीका मामाले दिएको जानकारीअनुसार घटनापछि भोलिपल्ट बिहान उजुरीका लागि प्रहरी कार्यालय जाने तयारी थियो । तर, गाउँको घटना गाउँमै मिलाउने भन्दै समाजले रोक्यो । बिहान समाज बसेर मिलापत्रका लागि छलफल भयो र पीडिकका तर्फबाट ५ लाख रुपैयाँ दिने कथित ‘मिलापत्र’ मा हस्ताक्षर भयो । गाउँका अगुवा र जनप्रतिनिधि सम्मिलित भेलाले किशोरीमाथि भएको करणीको मूल्य पाँच लाख तोकिदियो ।
प्रतिक्रिया दिनुहोस