नेपाली लोक संस्कृति झल्किने विभिन्न खालका बाजा यतिबेला क्रमिकरूपमा लोप हुने खतरा बढेको छ । आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागतरूपमा बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिँदा अहिले यस्ता खालका बाजा लोप हुने अवस्थामा पुगेको हो । तर आधुनिक बाजासँगै परम्परागत बाजाको पनि संरक्षण हुने काम गर्नेहरु छन् । उदाहरणको लागि बनेपा नगरपालिका–७ गोदामचोकमा बाजाहरुको व्यवसाय गरेर बस्ने दिपेन्द्र कुलुलाई लिन सक्छौँ । उहाँको स्थायी घर धादिङ जिल्ला भए पनि काभ्रेमा आएर विगत १० बर्ष देखी विभिन्न आधुनिक तथा परम्परागत बाजा निर्माण तथा बिक्रि गर्दै आइरहनुभएको छ । ५ लाखको लगानीमा व्यवसायको सुरुवात गर्नुभएको उहाँको पसलमा अहिले १२ लाख सम्मको लगानी छ । वास्तवमा नै भन्ने हो भने रैथाने बाजा विगतको जस्तो अहिले बिरलै देख्न र सुन्न पाइन्छ । एकै किसिमका पोशाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिका । अहो आजभोली यो प्रचलन हराउँदै गएको देख्न सक्छौँ । ‘यस्ता परम्परालाई जोगाउनको लागि मैले सक्दो प्रयास गरे जस्तो लाग्छ ।’ कुलु थप्नुहुन्छ, ‘मेरो पसलको उद्देश्य भनेको व्यवसाय गर्नु मात्र होइन बाजगाजालाई संरक्षण तथा प्रवद्र्धन गर्नु पनि हो । मेरोमा मादल अनि गितार पनि पाइन्छ । मेरो पसलबाट बेच्ने काम मात्र होईन यही नयाँ बनाउने र बिग्रिएका विभिन्न खालका बाजा मर्मत गर्ने काम पनि हुने गरेको छ । मादल, तबला, नेवारी बाजाहरु लगायतका बाजाहरु मानिसहरुले धेरै रुचाउनुहुन्छ ।’
दिपेन्द्र कुलु, प्रोप्राइटर, दिप म्युजिक सेन्टर, बनेपा गोदामचोक
कोरोना भाइरसको महामारी कारण सबैको व्यवसायमा अहिले असर परेको छ । कुलुको व्यवसायमा पनि धेरै नै असर परेको कुरा उहाँले बताउनुहुन्छ । तर अहिले महामारी रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउन खुल्ला भएपछि भने धेरै नै सहज भएको छ । पसलमा ग्राहक नभएको भन्ने पनि हँुदैन । कुलुले महामारी नेपालमा भित्रनु भन्दा पहिले ४ जनालाई जागिर पनि दिनुभएको थियो । तर संकटको बेलमा काम गर्नु ठिक होइन भन्दै सबैलाई आ–आफ्नो घर पठाइदिनुभयो अहिले भने काम गर्ने २ जना मात्र हुनुहुन्छ । उहाँहरुले एउटा मादल बनाउँदा न्युनतम ५ देखी ६ सय सम्म पाउनुहुन्छ ।
उहाँको बजार भनेको अहिले काभ्रे लगायतका आसपासका जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप रहेका छन् । देशभित्रमात्र नभएर विदेशमा समेत सामान बिक्रि हुने गरेको उहाँले बताउनुभयो । विशेष गरी युरोपिएन देशहरुमा बाजाहरु जाने गरेको छ । विदेशमा पनि मादल धेरै रुचाउने गरेका छन् । ‘विद्यालयहरुमा म्युजिक क्लास भनेर राख्ने गरेकाले हामी व्यवसायीहरुको लागि भने धेरै सहज हुन्छ ।’ कुलु भन्नुहुन्छ, ‘काम गर्न यो चाहीँ सजिलो हुन्छ भन्ने होइन तर जाँगर देखाउने हो भने सबै पेशामा पैसा कमाउन गाह्रो हँुदैन तर गरेको काममा ईच्छा चाही हुनु प¥यो । म पनि एस.एल.सी सक्किएपछि यो पेशामा लागेको थियो । अहिले मेरो पेशा निकै फस्टाएको छ । काठमाडौँमा नै मैले मेरै दाजु पर्नेहरुकोमा ५ बर्ष जति सिकें । मलाई यो काम पुरा जान्नको लागि नै त्यत्रो समय लाग्यो । आज भन्दा १० बर्ष अगाडी म काभ्रेमा व्यवसाय नै गर्ने हिसाबले प्रबेश गरेको थिएँ । पहिले नै काठमाडौँमा लामो समयसम्म सिकिसकेको कारण केही सहज भएको थियो । यो पेशामा आज म सफल छु र सन्तुष्ट पनि छु । मलाई के लाग्छ भने अरु व्यवसाय गर्नु भन्दा यो व्यवसायमा एउटा छुट्टै खालको आनन्द छ । दिनभरीको थकान म सन्ध्यामा धुन सुनेर मेटाउँछु । मलाई केही कुराको तनाब छ भने पनि म विभिन्न खालको धुनको तालमा हराउँछु । अरु व्यवसायमा त्यो खालको वातावरण हँुदैन ।’
उहाँको जन्म २०४८ साल भाद्र १२ महिनामा भएको थियो । मध्यमवर्गिय परिवारमा हुर्कनुभएको उहाँले एस.एल.सीसम्मको अध्ययन गर्नुभएको छ । एस.एल.सी दिना साथै व्यवसायमा लाग्नुभएको कारण अरु पढाईलाई भने निरन्तरता दिन सक्नु भएन । शुरुवाती दिनहरुमा त व्यवसायको आफुले पनि राम्रो काम गर्न सक्छु भनेर विश्वास दिलाउनमा नै बित्यो । बिस्तारै मानिसहरुले विश्वास गर्न थाले पनि खासै अफ्ठेरो लागेको थिएन । उहाँले भन्नुभयो, ‘मैले सधै सानोमा ड्राइभर बन्ने सपना देखेको थिए । त्यो बेलामा परिवारको साथ थिएन ड्राइभर बन्नेको लागि । त्यसैले अहिले म यो पेशामा छु । अब मैले अलि धेरै पैसा कमाएपछि आफ्नै गाडीको ड्राइभर बन्ने सोच बनाएको छु । जिवनमा मेरो सबैभन्दा ठुलो कमाई भनेको मैले लगभग ३० लाखको घर बनाएको छु । अनि मेरो यो पसलमा भएको लगानी । मेरो लागि सबैभन्दा ठुलो प्रगती नै यही हो । अहिलेको आम्दानीको कुरामा ४ लाखसम्म बचत हुन्छ बर्षमा । व्यवसायको सुरुवात गरेको पहिलो दिन मेरोमा यहीका एकजना स्थानीय अंकल बाजा बनाउन आउनुभएको थियो । त्यो दिन मलाई एकदमै खुसी लागेको थियो । त्यो दिनमा मैले केही गरेर देखाउने आँट र आत्मविश्वासलाई बढाएको थिए । उहाँ जस्तै धेरै जना अंकल जब मेरो पसलमा प्रवेश गर्नुहुन्थ्यो मलाई अझै केही गर्न सक्छु भन्ने आँट आउँथ्यो । त्यसैले होला मेरो कामप्रतिको लगाव झन बढ्दै जान्थ्यो ।’
उहाँले यो व्यवसायलाई लिएर धेरै योजना पनि छ । तिहार पछि पसलको क्षेत्र विस्तार गर्ने र काम गर्ने मानिस पनि थप गर्ने उहाँको योजना छ । कुलु थप्नुहुन्छ, ‘नेपाली बाजा सबै हाम्रोमा निर्माण हुने भएकाले यदी कसैलाई कुनै पनि प्रकारको बाजा चाहिएका सम्पर्क गर्नुहोला । पहिले म आफैँलाई यो काम गर्न सक्छु भन्ने कुरामा विश्वास लागेको थिएन । आज मेरोमा टाढा टाढादेखी पनि दिपेन्द्रले चाहीँ राम्रो गर्छ भनेर आउनुहुन्छ । त्यही समयमा चाहीँ म साँच्चै नै सफल भएछु भन्ने महशुस हुन्छ ।’
हरेक शुक्रबार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट साभार
प्रतिक्रिया दिनुहोस