शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ ।
६बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।
स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।
अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो ।
शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए ।
त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ । स्रोतले भन्यो, ‘वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने बुँदामा समेत सहमति भइसकेको थियो, तर एकाएक सहमति भाँडियो ।’
प्रतिक्रिया दिनुहोस