सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ । सरकारसँग राति ९ बजेपछि वार्ता सुरु भएको डा. केसी पक्षको वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले दिनभर वार्ताको बेवास्ता गरेपछि केसी पक्षले शुक्रबार राति १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ सार्वजनिक गर्ने बताएको थियो । तर सरकार पक्षले एक घण्टा अगाडि छलफलका लागि बोलाइएको हो । ‘सहमति भए सहमतिको पत्रकार सम्मेलन र दिउँसो जस्तै भुलाउन बोलाइएको भए भण्डाफोर गर्छौं,’ उनले भने ।
शुक्रबार बिहानैबाट वार्तालाई निरन्तरता दिने भनिए पनि सरकारी वार्ता टोलीले समय नदिँदा दिनभर वार्ता भएन । २६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो । बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो ।
डा. केसीले आईओएममा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको माग छ । विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलमा मापदण्ड निर्धारण समितिले दिएको सुझावका अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थासमेत गरिनुपर्ने उनको प्रमुख माग मध्येको एक हो । अख्तियारको बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउनुपर्ने माग राखेर सत्याग्रहमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस