सर्वोच्च अदालतको निर्देशनमा काभ्रे जिल्लाको चौरी देउराली गाउपालिका वडा नं. ६ स्थित प्रभा उच्च माध्यामिक विद्यालय (हाल प्रभा मा.वि.) मा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट खटिएको डोरले म्याद बुझाएको छ ।
अदालतका कर्मचारी र प्रहरीको डोरले विहिबार विद्यालयमानै पुगेर म्याद बुझाएको हो ।
चौरी देउराली गाउपालिका वडा नं। ६ का वडा अध्यक्ष रेशम प्रसाद चौलागाईं सहितका व्यक्तिको मिलेमतोमा काभ्रेमा उक्त विद्यालय नरहेको झूठो प्रतिवेदन पठाइएको एक साता पनि नवित्तै अदालतको डोरले विद्यालय पत्ता लगाई म्याद तामेल गराएको हो । दिनभर अवरोध गरेपछि इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको सहयोगमा म्याद तामेल गराएको म्याद बुझाउन जाने एक कर्मचारीले बताए । ‘वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई हामीले तीन चार दिनदेखि नै अदालतको म्याद बुझेर सहयोग गर्न आग्रह गरेका थियौं, तर उनीहरु तयार थिएनन् तर प्रहरीको सहायतामा विहिबार मात्रै म्याद बुझे ।’–उनले भने ।
विहान एघार बजे नै विद्यालयमा पुगेका अदालतका कर्मचारीलाई घण्टौ अल्मल्याएर म्याद नबुझाउने मनस्थिति देखेपछि प्रहरीको भ्यान दिउ‘सो २ बजे पुगेको थियो । प्रहरीको भ्यान देखेपछि उनीहरुले म्याद बुझेका थिए ।
म्याद बुझाउन काभ्रे जिल्ला अदालतबाट ४ जना कर्मचारी खटेका थिए भने चौरी देउराली प्रहरी कार्यालयबाट एक भ्यान प्रहरी खटेका थिए । अदालतको सहयोगका लागि काभ्रे जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्न बुधवारै पत्राचार गरेको पनि अदालत स्रोतले बतायो ।
अनियमितता सम्बन्धी मुद्दा छल्न विद्यालय नै नरहेको प्रतिवेदन बुझाएको बारे समाचार विभिन्न सञ्चारमाध्यमले मार्फत सार्वजनिक गरेका थिए ।
सर्वोच्च अदालतको अन्तरिम आदेश छल्न कर्मचारीकै मिलेमतोमा काभ्रेको एक विद्यालय नै गायव बनाइएको प्रतिवेदन पेस गरिएको थियो ।
वडा नं। ६ का वडा अध्यक्ष रेशम प्रसाद चौलागाईं, अदालतका म्याद तामेल गर्ने कर्मचारी र स्थानीयको मिलेमतोमा सो विद्यालय नै नरहेको झूठो प्रतिवेदन सर्वोच्च अदालतमा पेश गरिएको हो ।
खुलानेपालको सहयोगमा तयार पारिएको समाचार
प्रतिक्रिया दिनुहोस