काभ्रे जिल्लालाई सडक मानव मुक्त बनाउन मानव कल्याण समाज (सेवा घर)को स्थापना भएको छ ।
भक्तपुरमा केन्द्रिय कार्यालय स्थापना गरी २०७५ बैशाख देखि सेवा शुरु गरेको उक्त संस्थाले काभ्रेपलाञ्चोक जिल्लामा भदौ १५ गते देखि सडक मानवको उद्धार गर्न शुरु गरे पनि शुक्रबार औपचारिक उद्घाटन गरेको थियो । धुलिखेल नगरपािलकाका नगरप्रमुख अशोक व्यञ्जुले मानव सेवा घरको शुभारम्भ गरे । कार्यक्रममा धुलिखेल नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकालाई बालमैत्री, बालश्रममुक्त नगर घोषणाको तयारीमा जुटिरहँदा सडकमा हुने मानवहरुको उद्धार र ब्यवस्थापन सँगै पुर्नस्थापना गर्ने कार्यमा साझेदारी गर्ने मानव कल्याण समाजलाई धन्यवाद दिदै सरकारको काममा संस्थाले लिएको अगुवाईमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताए ।
सडकलाई मानव मुक्त बनाउन र सडकमा पुगेका नागरिकहरुलाई परिवारमा पुर्नस्थापना गराउन सरकारी निकायहरुको तर्फबाट समन्वय र सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले सडकमा मानव आउनै नदिन नागरिकहरुलाई सचेतना गराउनु पर्ने बताईन । कलाकार सरिता लामिछानेले एउटा घर संचालन गर्न कठिन हुने अवस्थामा सडकमा भएका मानवहरुको उद्धार गरी पहिलाकै अवस्थामा फर्काउन कठिन भएकाले मानव कल्याण समाजको सेवा भावनालाई सबै क्षेत्रबाट सहयोग पु¥याई मानव भएर बाँच्न पाउने अधिकारको संरक्षण गर्नु पर्ने बताईन । प्रशिक्षक विके रमण भट्टराईले सकारात्मक सोचको विकास गरी नागरिकहरुलाई सम्मान गर्नु पर्ने बताउँदै परिवारले परिवारकै सदस्यलाई माया गर्नु पर्नेमा जोड दिए । धुलिखेल नगरपालिका वडा नं ४ का अध्यक्ष रविन्द्र कर्माचार्यले नागरिकहरुको अधिकारलाई नगरपालिकाले सम्मान गर्दै नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको तर्फबाट सक्दो सहयोग पु¥याउने बताए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सुमित्रा चौलागाई (सुमि मानव) ले भुकम्प पछि राजधानीका सडकमा थुप्रिएका सयौ मानवहरुलाई तातो खाना खुवाउने अभियान शुरु गरी भक्तपुर जिल्लामा रहेका सडक मानवहरुको उद्धारमा खटिन प्रेरणा मिलेको बताईन । २ वर्षको अवधीमा भक्तपुरमा २ सय भन्दा धेरै सडक मानवहरुको उद्धार गर्दा काभ्रेपलाञ्चोक जिल्लाका २५ भन्दा धेरै छन् । संस्थाले हुनेबाट सहयोग लिएर नहुनेलाई उपयोग गराईरहेको छ । हाल संस्थाको उद्धारबाट परिवारमा पुर्नस्थापना हुन भक्तपुरमा ७० र काभ्रेपलाञ्चोक जिल्लामा १३ जना बाँकी छन् । जन्मेको २ दिनको बालक देखि जेष्ठ नागरिकहरु समेत सडकमा भेटिएर उद्धार गरेको अध्यक्ष चौलागाईले जानकारी दिईन । सडकमा भएका मानवहरु अधिकांश मनोरोगी छन् । उनिहरुको स्याहार सुसार गरी पहिलाकै अवस्थामा फर्काउन कठिन छ । तर पनि संस्थाले त्यस्ता ७५ जना ब्यक्तिहरुलाई निको बनाएर परिवारमा पुर्नस्थापना गरिसकेको अध्यक्ष चौलागाईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस