सरकारले जग्गा पास गर्न चाहिने निवेदन र लिखत स्थानीय तहबाटनै तयार गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलोपटक पाँचखाल नगरपलिकामा भू–सेवा केन्द्र स्थापना भएको छ ।
भू–सेवा केन्द्रको एक कार्यक्रमका बिच पाँचखाल नगरका नगर प्रमुख महेश खरेलले उद्घाटन गरे । कार्यक्रममा मालपोत कार्यालय काभ्रेका प्रमुख लोक बहादुर भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई, नगरका शाखा प्रमुखहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख खरेलले जनताको सेवाको लागि नगर लागिपरेका बताए । जिल्लामा पुगेर झन्झट बेहोर्दै आएका स्थानीयलाई यो केन्द्र स्थापना भएपछि सहयोग पुग्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमागाई, नगरका शाखा अधिकृत राजेश बञ्जारा, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई लगायतले भू–सेवाबारे चर्चा गरे ।
कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको हो । काभ्रेका असोज १ गतेबाट जिल्लाका १३ वटै पालिकाहरु मार्फत भू–सेवा केन्द्र अन्तर्गत निवेदन र लिखतको काम शुरु भएको भएपनि केहि स्थानीय तहमा भने कर्मचारी अभाव तथा प्राविधिक सामाग्रीको अभावमा भू–सेवा चलाउन नसक्ने बताएका छन् ।
सरकारले यो बर्ष भित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तह मार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाईनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ । स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाईनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा जग्गा प्रशासनको काम अनलाईनमार्फत गर्नको लागि लिखत गरिने र त्यो लिखत गर्न यस अघि मालपोत कार्यालयले गत बर्ष ५२ जना र यो बर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइएको थियो ।
मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिसकेको छ ।
प्रतिक्रिया दिनुहोस