काभ्रेको कर्णली भनेर चिनिने डाँडापारी क्षेत्रमा जाने पक्की सडकको शिलन्यास भएको छ ।
एक कार्यक्रमका विच विपी राजमार्गबाट महाभारत गाउँपालिकाको केन्द्र जोड्ने पिन्थली–रजवास–चारकिल्ला–देबिटार–घर्तिछाप–गोकुले सडकको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गरे ।
शिलन्यास भएको सडक २०७९ असार मसान्त सम्म सक्ने गरी ठेक्का लागिसकेको पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए । उनका अनुसार नाली, गयभेन वाल, कजवे, कल्भर्ट लगायत कालोपत्रे गर्नको लागि पहिलो चरणमा २५ करोड ८२ लाख १० हजार बजेट छुट्टिएको छ । ८ दशमलब ७ किलोमिटर सडकको निर्माणको लागि ३४ प्रतिशत बिलोमा श्रेष्ठ/सक्षम जेभि सामाखुशीले ठेक्का पाएको छ ।
शिलन्यास कार्यक्रममा पूर्वाधार विकास मन्त्री फुयालले बाग्मती प्रदेशमा निर्माणको कामलाई जोड दिईएको बताए । कार्यक्रममा पूर्व उर्जा मन्त्री सुर्यमान दोङ, संघिय संसद गंगाबहादुर दोङ, संविधानसभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मी, नेकपा नेताहरु इन्द्रबहादुर थिङ, राजकुमार कुँबर, सुजन लामा, वडा अध्यक्ष कान्छामान जिम्बा लगायतले मन्तब्य राखेका थिए ।
सडक बनेपछि २ दिन सम्म हिडेर सदरमुकाम पुग्नुपर्ने बाध्यताबाट गाउँपालिका बासी मुक्त हुने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । उनले गाउँपालिकाको केन्द्रलाई शहर बनाउन पिच सडकको शुरुवात गरेको बताए ।
महाभारत ६ का स्थानीय इमान सिं मोक्तानले कोल्टारबाट पनौती ३ दिन हिडेर पुग्नसपर्ने बाध्यताको अन्त्य हुने बताए । आँगनमै गाडी आउनेभएपछि औधी खुशी लागेको समेत बताए । पहिला उत्पादन भएका तरकारी खेर जाने गरेको तर अहिले सडक आएपछि उत्पादनहरुलाई शहरमा बेच्न सकिएको स्थानीयको भनाई छ ।
२ बर्षमा सक्नेगरी ठेक्का पाएको सक्षम जेभि सामाखुशीका प्रोजेक्ट इन्चार्ज सुरेश भण्डारीले समय अगावै काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जिम्वाले डाँडापारीका विकासबारे पूर्वाधार मन्त्री फुयाललाई मागपत्र प्रस्तुत गरेका थिए ।
उता सडकको शुरुवाती ठाउँ पिन्थली र रजवासका स्थानीयले भने तीनखुट्टेबाट गाउँपालिका जाने सडक कालोपत्रे गर्न शिलन्यास गरेपछि गुनासो व्यक्त गरेका छन् । रोशी ९ रजवासका साधुराम रानामगरले डिपिआर गर्दा विपी राजमार्गबाट शुरु गरेको भएपनि पिचको काम तिखुट्टेबाट शुरु भएकोमा दुःख व्यक्त गरे । उनले डिपिआर भएकोठाउँबाट पिचको काम हुनुपर्ने माग राखे ।
प्रतिक्रिया दिनुहोस