अमेरिकी डलर साटिदिन्छु भन्दै प्रलोभन देखाई ठगी गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार सर्वाजनिक गरेको हो । उनीहरुलाई पिडितसंगको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं। ५ का ३८ वर्षीय श्रीखण्ड तामाङलाई असोज १८ गते बनेपा न.पा. वडा नं। ०८ बाट पक्राउ गरेको थियो । त्यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं। ५ घर भइ हाल काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं। २ मा डेरा गरी बस्दै आएका हर्क तामाङलाई पनि असोज १८ गते उनकै डेराबाट पक्राउ गरेको थियो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय चैते भनिने बुद्धि बहादुर तामाङ र ६० वर्षीय गोविन्द तामाङलाई असोज १९ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा.१० स्थित साँगाचोकबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई “मुलुकी अपराध संहिता, २०७४“ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरिएको र घटना बारेमा थप अनुसन्धान कार्य भईरहेको कार्यालयको जानकारी छ ।
घटना के हो ?
नुवाकोटका दुप्चेश्वर गाँउपालिका वडा नं. ०२ स्थित कुटुमसाङका पेन्जोम शेर्पालाई अपरिचित व्यक्तिले फोन सम्पर्क गरेर आफूहरुसँग १७ हजार अमेरिकी डलर भएको भनि विभिन्न किसिमको प्रलोभन देखाई सस्तो मूल्यमा साटी दिन्छु भन्दै ठगी गरेका हुन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएस्पी कुमार विक्रम थापाका अनुसार उनीहरुले शेर्पालाई नुवाकोटबाट गत साउन १२ गते जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ४ स्थित लामीडाँडा बोलाई १० लाख रुपैँयाको रुमालको पोको दिएर बाँकी पैसा पछि दिने भन्दै फरार भएका थिए । उनीहरुले शेर्पालाई रुमालको पोको तत्काल नखोल्नु भन्दै, ‘अरु कसैले देख्यो वा प्रहरीले थाहा पाएमा अप्ठ्यारो पर्ने’ बताउँदै अल्मलाई फरार भएको प्रहरीको भनाई छ । पछि उक्त डलरको रुमाल खोलेर हेर्दा सो रुमाल भित्र काटिएको कागजको बिटा मात्र रहेको देखेपछि शेर्पाले प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेकाहरुले काठमाण्डौ उपत्यका लगायत अन्य जिल्लाहरु समेतमा अनेकौ यस्ता किसिमका घट्नाहरु घटाई फरार रहेको भनि प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकृतिका घट्नाहरुका पीडितहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क राख्न हुन कार्यालयले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस