२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कोरोनाले रोकिए सत्तापक्ष र प्रतिपक्षी दलका बैठक

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित २ साल अघि
  • २७६ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बोलाइएको थियो, तयारी नपुगेको भन्दै आइतबारलाई सारियो । तर, शनिबार साँझ बालुवाटारमा कोभिड–१९ कोरोना भाइरस छिर्‍यो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका सदस्यसहित बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भयो ।

    शनिबार तयारी नपुगेर आइतबारका लागि सारिएको बैठक बस्नेमा केही घण्टा अघिसम्म सचिवालयका सदस्यमा अन्योल थियो । अबेलासम्म बैठक स्थगित गरिएको सूचना पठाइएको थिएन । आइतबार दिउँसो चार बजेका लागि बैठकको समय पूर्वनिर्धारित थियो । अन्ततः प्रधानमन्त्री ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा संक्रमण पुष्टि भएको र बैठकस्थल बालुवाटार संक्रमणको उच्च जोखिममा देखिएकाले आइतबारको सचिवालय बैठक पनि अन्तिम घडीमा आएर रोकियो ।

    पूर्वअर्थमन्त्री डा।युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने लगायत केही महत्वपूर्ण निर्णयमा पार्टीभित्र असन्तुष्टि देखिएपछि शनिबार सचिवालय बैठक बोलाइएको थियो । तर, तयारी नपुगेको भन्दै एक दिन पछाडि धकेलिएको बैठक स्थगित हुनुमा बैठकस्थलमा उच्च जोखिम देखिनु र प्रधानमन्त्री संक्रमितको सम्पर्कमा रहनु नै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टीभित्र देखिएको असन्तुष्टिबारे छलफल गर्न केन्द्रीय कार्य समिति बैठक असोज १९ मा बोलाएको थियो । कांग्रेसको बैठक पनि कोरोना संक्रमणकै कारण प्रभावित बन्न पुगेको छ ।

    १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाव बिहीबार संकलन गरिएकोमा पाँच केन्द्रीय सदस्य र केन्द्रीय मुख्यालय सानेपाका १७ कर्मचारीमा संक्रमण पुष्टि भएकाले कांग्रेसको बैठक पनि स्थगित भएको छ ।

    केन्द्रीय मुख्यालय सानेपा पाँच दिन बन्द नै गरिएको छ । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ, जंगीलाल यादव र रमेश रिजाललाई संक्रमण पुष्टि भएको छ । पार्टी विधान विपरीत विभाग विस्तार, क्रियाशील सदस्यता वितरण, समायोजनको मापदण्ड लगायतप्रति असन्तुष्टि जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लिखित विरोधपत्र पार्टी कार्यालयमा बुझाएपछि छलफल गर्न बैठक राखिएको थियो ।

    अर्थात्, एकै दिन तीन हजार बढीमा संक्रमण पुष्टि भइरहेका बेला अब उच्च राजनीतिक तहमै संक्रमण पुगेको छ । यसअघि नेताहरुको सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपनि शनिबारको रिपोर्टले भने राष्ट्रिय राजनीति नै प्रभावित बन्ने तहमा संक्रमण पुगेको देखिएको छ ।

    तर, यसपटक भने देशको कार्यकारी प्रमुख र पार्टी अध्यक्ष ओलीसम्मै संक्रमित जोडिन पुगेका छन् । शनिबार संक्रमण पुष्टि भएका तीनै जना सल्लाहकार उच्च तहका नेता समेत हुन् । प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल स्थायी कमिटी सदस्य, परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई केन्द्रीय सदस्य र प्रेस सल्लाहकार सूर्य थापा केन्द्रीय सदस्य एवम् नेकपा प्रचार विभाग उपप्रमुख हुन् ।

    प्रतिनिधिसभाको अर्का दल जनता समाजवादी पार्टी (जसपा) को गतिविधि पनि कोरोना संक्रमणबाट प्रभावित बन्दै आएको छ । नेकपा र कांग्रेसमा जस्तो उच्च तहका नेताहरुमै संक्रमण नदेखिएको भए पनि लकडाउन र निषेधाज्ञा जस्ता कारणले एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
    तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता भएपछि निर्वाचनमा आयोगमा बुझाउनुपर्ने औपचारिक कागजात मिलाउनेबाहेक जसपा अगाडि बढ्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस