प्रत्येकपटक मुटु धड्किँदा रक्तवाहिकामार्फत शरीरका सबै अंग र कोषिकामा रगत पुग्ने गर्छ । रगत शरीरमा प्रवाहित हुँदा यसले रक्तवाहिकाको भित्तामा दबाब दिन्छ जसलाई रक्तचाप भनिन्छ । रक्तचाप सिस्टोलिन र डायलोस्टिक गरी दुई किसिमका हुने गर्छन् ।
रक्तनलीको भित्तामा लगातार दबाब दिँदा रक्तचाप बढ्छ । समयसमयमा यस्तो भइरहने भए पनि कुनै लक्षणहरू अनुभव हुँदैनन् । तर, रक्तचाप बढ्दै गएमा हृदयाघात, स्ट्रोक, मुटु, मिर्गौला आदि अंगमा समस्या देखिन थाल्छ । उच्च रक्तचापको समस्या भएका व्यक्तिले चिकित्सकसँग नियमित परीक्षण गर्नुपर्ने हुन्छ । यसरी चिकित्सकसँगको नियमित परीक्षणबाट रक्तचाप नियन्त्रण गर्न सजिलो हुन्छ । तर, कतिपय अवस्थामा चिकित्सकसँग नियमित सम्पर्क र परामर्श गर्न नसकिने पनि हुन्छ । यस्तो अवस्थामा घरमै पनि रक्तचाप परीक्षण गर्न सकिन्छ । तर, यस्तो वेला सजगता भने अपनाउनुपर्छ ।
रक्तचाप परीक्षण भने रक्तवाहिनीमा पर्ने दबाबको परीक्षण हो । जुन मिलिमिटर अफ मर्करीको आधारमा नापिन्छ । सामान्यतया रक्तचापको माथिल्लो नम्बर(सिस्टोलिक) र तल्लो नम्बर (डायस्टोलिक)मा नापिन्छ । जसले शरीरमा रक्तचापको सबैभन्दा माथिल्लो र तल्लो बिन्दु बताउँछ ।
– रक्तचाप मापन दैनिक एउटै समय र आराम गरिरहेको अवस्थामा नाप्नुपर्छ । सुरुवातीमा दुईवटै हातमा रक्तचाप नाप्न सकिन्छ ।
– रक्तचाप नाप्दा शान्त स्थानमा बस्नुपर्छ, ता कि मुटुको धड्कन सुन्न सजिलो होस् । साथै अत्यधिक चिसो कोठामा पनि बस्नुहुँदैन ।
– परीक्षण गर्नुभन्दा अगाडि केही समय आराम गर्नुपर्छ । करिब ३० मिनेट पहिलेसम्म धुम्रपान, क्याफिन र अल्कोहलयुक्त वस्तु प्रयोग गरेको हुनुहुँदैन ।
– यदि पूरा बाहुला भएको लुगा लगाएमा बाहुला माथि सारेर जाँच गर्नुपर्छ, अर्थात् सकेसम्म खुला छालामै रक्तचाप जाँच गर्नुपर्छ ।
– शरीरमा असर नपर्ने गरी आरामदायी बेन्च वा कुर्सीमा बस्नुपर्छ । शरीरलाई सीधा राख्ने र जाँच गर्दा सकेसम्म बोल्नुहँुदैन ।
यस्ता सामान्य चरणमा विचार गरेर घरमै स्वचालित रक्तचाप मेसिन वा स्फिगोमोमामोमिटरको माध्यमबाट परीक्षण गर्न सकिन्छ । रक्तचाप परीक्षण गर्ने मेसिनको प्रयोग सजिलै गर्न सकिन्छ । तर, बालबालिकाको सम्पर्कबाट भने टाढा राख्नुपर्छ ।
साथै सकेसम्म प्रयोग विधिबारे राम्रो ज्ञान भएका व्यक्तिहरूको सहयोग लिँदा राम्रो हुन्छ । वयस्कहरूमा सिस्टोलिक अर्थात् माथिल्लो बिन्दु १४० एमएमएचजीभन्दा तल र डायस्टोलिक अर्थात् तल्लो बिन्दु ९० एमएमएचजीभन्दा तल हुन आवश्यक छ । कतिपय अवस्थामा स्टिोलिक १२० एमएमएचजी र डायस्टोलिक ८० हुँदा पनि सामान्य मानिन्छ । यो अंकभन्दा माथि वा तल रक्तचाप देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस