२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

व्यवसायीक मदिरा प्रतिबन्ध लगाउँदै चौंरीदेउराली

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३९१ पाठक संख्या
  • काभ्रेको चौंरीदेउराली गाउँपालिका भित्र व्यवसायिक मदिरा प्रतिबन्ध कार्यन्वयन गर्ने निर्णय भएको छ ।

    मदिरा प्रतिबन्ध मूल समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दिननाथ गौतमको अध्यक्षतामा शुक्रबार बसेको बैठकल मदिरा प्रतिबन्धका लागि एक हप्तासम्म जनचेतना मूलक तथा जानकारी सहितको प्रचार प्रसारमा लाग्ने र त्यपछि पूर्ण रुपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

    सोही अनुसार गाउँपालिका भित्र भोलि शनिबारबाटै प्रचार प्रसारका काम थालनी गर्ने निर्णय बैठकले गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा व्यवसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । सोही क्रममा कार्यपालिका ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि– २०७७’ लाई २०७७ साल भदौ ५ गते स्वीकृत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।

    गाउँपालकाले बनाएको कार्यविधि विपरीत गाउँपालिका भित्र मदिरा विक्री वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कार्वाही गर्ने कार्यविधिमा उल्लेख छ ।

    गाउँपालिका अध्यक्ष गौतमका अनुसार मदिरा बेचविखन तथा ओसार पसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर हिसाब गरी जरिवाना गर्नेछ । प्रमाणित भएमा चरणबद्ध रुपमा जरिवाना गर्ने उनले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार पहिलो पटक रु.५ हजार, दोश्रो पटक रु. १० हजार, तेश्रो पटक रु. २० हजार जरिवानो गरिनेछ । सोभन्दा बढी पटक गरेको पाइएमा तेश्रो पटक गरिएको जरिवाना भन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ ।

    कार्यविधिमा मदिरा सेवन गरी सार्वजनिक स्थलमा झै झगडा गरे कार्वाही गर्ने, खान दिने र खाने दुवैलाई कार्वाही गर्ने, त्यस्तै मदिरा सेवन गरी झैझगडा गरेमा पनि चरणबद्ध जरिवाना गर्ने लगायत छन् ।

    प्रतिक्रिया दिनुहोस