२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

आफ्नै काम र टिकारामलाई कामले दिलाएको आत्मविश्वास

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६७७ पाठक संख्या
  • टिकाराम श्रेष्ठ, सञ्चालक म्युजिक क्याफे, बनेपा

    अरुको जागिरमा जसरी काम गरिन्छ आफ्नै व्यवसाय भयो भने त्यो भन्दा धेरै मन लगाएर काम गरिन्छ । गोजी भरियोस् या नभरियोस् दिनभरीको कामले मन भने गज्जबले नै भर्न मन लाग्छ । दिनभरीको थकाई भन्दा पनि जब आफ्नो काम सन्तोषजनक हुन्छ तब आरामको निन्द्रा लाग्छ । बनेपा नगरपालिका ८ का टिकाराम श्रेष्ठ यस्तै भन्नुहुन्छ । घर रामेछाप भएपनि ९ बर्ष अगाडी कामको शिलसिलमा काठमाडौं जानुभयो । गाउँघरमा बस्दा खेतीपाति बाहेक अरु पेशामा खासै कुनै आइडिया नभएको श्रेष्ठले होटल लाईनमा प्रवेश गर्नुभयो ।

    ३ वर्ष होटलमा नै काम गरिसकेपछि उहाँ बनेपा आउनुभयो । बनेपामा ८ बर्ष अरुको रेष्टुरेण्टमा काम गर्नुभयो । सुरु सुरुमा कामहरु निकै नै चुनौतीपूर्ण लाग्थ्यो । उहाँ भन्नुहुन्छ, ‘मलाई होटल लाईनको बारेमा खासै राम्रो जानकारी थिएन । शैक्षिक अवस्था पनि कमजोर । पढ्ने रहर हुँदा हुँदै पनि घरको आर्थिक अवस्था राम्रो नभएको कारण धेरै पढ्न सकिएन । सामान्य शिक्षा हासिल गरेको मलाई जिल्ला बाहिर आएर काम गर्नु एक त त्यो नै चुनौती कुरा थियो । तर मैले समाधान खोज्ने प्रयासलाई निरन्तरता दिए । परिवार र साथिभाइको भने निकै नै सहयोग थियो । त्यही साथ सहयोगको कारण पनि हिजो अरुको रेष्टुरेन्टमा मासिक तलब खाने म आज अरुलाई तलब खुवाउन सक्ने भएको छु । आफ्नो हैसियत बढाएको छु । गाउँघरमा पनि फलानोको बाउ या आमा भन्दा बुवा आमालाई पनि खुसी लाग्छ रे । खासमा भनौं भने २४ बर्षको उमेरमा नै यहाँसम्म आइपुग्नु भनेको नै मेरो लागि सफलता हो । अरुकोमा काम गर्दा पनि मलाई राम्रो प्रतिक्रिया आएको थियो । छोटो समयमा नै धेरै कुराहरु सिकेको थिए । केही बर्षमा नै म अरुलाई काम दिन सक्ने भए । म यसमा निकै खुसी छु ।

    जिवनमा सोचेका कुराहरु एकदमै कम हुन्छन् अनि नसोचेका कुराहरु ज्यादा । श्रेष्ठको जिवनमा पनि यस्तै यस्तै नै भयो । पारिवारिक वातावरणमा कामको कुरा गर्ने हो भने कृषि पेशामा संलग्न हुनुहुन्छ श्रेष्ठको परिवार । उहाँले सानो बेलामा बनाएको भविष्यको योजना भनेको कलाकारिता क्षेत्र । होटल व्यवसायसँग त कुनै तालमेल नै मिल्दैन थियो । तर पनि अहिले उहाँ एक सफल व्यवसायी बन्नुभएको छ । करिब ४ लाखको लगानीमा म्युजिक क्याफे सञ्चालन गर्नुभएको उहाँलाई सुरुवाती चरणमा निकै गाह्रो परेको थियो । तर आजको कुरा गर्ने हो भने क्याफे चलाउने काम पहिले आफुले सोचे जस्तो गाह्रो नभएको उहाँ बताउनुहुन्छ । हुन त श्रेष्ठले यस विषयमा कामको अनुभव पहिले पनि लिइसक्नु भएको थियो । प्राय जसो कामहरु अगाडी नै जानेको कारण पनि आफुलाई सहज भएको श्रेष्ठले बताउनुभयो । अरुकोमा काम गर्दा र आफ्नो काम गर्दा धेरै फरक छ । उहाँ भन्नुहुन्छ, अरुमा साहुलाई कसरी रिझाउँ भन्ने सोच भइरहन्छ । तर आफ्नो काममा अरुलाई कसरी सक्रिय बनाउन भन्नेमा दिमाग जान्छ । मेरो सामान्य खालको क्याफे भएको हुँदा धेरै नै तनाब पनि हुँदैन । एक बर्ष भयो मैले यो क्याफे खोलेको । दर्ताको प्रकृया पहिले नै भएको हुँदा  पनि काममा सहज भएको छ । आम्दानीको कुरामा त म सन्तुष्ट छु । मेरो आमा पनि खुसी हुनुभएको छ । मलाई यसैमा खुसी छ । एक बर्षमा ऋण तिर्न सकेको छु । जब म आमाको हातमा पैसा थमाउछु त्यो बेलामा मलाई निकै नै खुसी लाग्छ । पहिले देखी नै म बुबा आमालाई कसरी खुसी बनाउन सक्छु ? घरयासी खर्चमा कसरी सहयोग गर्न सक्छु ? मेरो भविष्य के होला ? भन्ने कुरा मनमा आइरहन्थ्यो । आज म यो सबै कुराबाट मुक्त छु । मैले धेरै सोचिरहुन परेको छैन । गाउँ जाँदा सबैले मान र गर्नुहुन्छ । पैसा थोरै होस् तर मनमा सन्तुष्टि हुनुपर्ने उहाँको अनुभव छ ।’होटल चलाउनुका साथै श्रेष्ठमा गित गाउन सक्ने कला पनि छ । सानै देखिको रहर भएकाले उहाँले २ वटा गित समेत बजारमा ल्याइसक्नु भएको छ । एक दर्जन भन्दा धेरै टेलिसिरियल, म्युजिक भिडियो र लघु कथामा उहाँले अभिनय पनि गरिसक्नु भएको छ । व्यवसायसँगै आफ्नो कलाकारिता क्षेत्रलाई पनि अघि बढाउने उहाँको योजना पनि रहेको छ । कलाकारिताको क्षेत्रमा कमेडी विधा धेरै नै रुचाउने श्रेष्ठले कमेडी कै विधाबाट नाम कमाउने सोच पनि बनाउनुभएको छ । पैसाको लागि मरिमेट्नु भन्दा पनि कुन काममा आफुलाई सहज हुन्छ र कुन काममा आफु सन्तुष्ट भइन्छ त्यही काममा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

    श्रेष्ठले क्याफेको क्षेत्र विस्तार गर्ने योजना बनाउनुभएको छ । विदेशमा जाने युवाहरुको लागि उहाँले नेपालमा नै बसेर काम गर्नको लागि सल्लाह सुझाव दिनुभएको छ । बरु आफ्नै ठाउँमा बसेर काम गर्न चाहेमा सकेको सहयोग गर्ने उहाँको सोच रहेको छ । काम गर्ने मानिसको संख्या बढाउने र क्याफेबाट अहिले प्रदान भइरहेको सेवा सुविधा अझै थप गर्ने पनि उहाँले योजना बनाइरहनु भएको छ ।

    प्रस्तुतिः रोजिना थापा

    काभ्रेबाट हरेक शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस