२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइँदै

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५२४ पाठक संख्या
  • काठमाडौं । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

    वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

    इन्द्रध्वजाको लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि इन्द्रध्वज पतन गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।

    तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले इन्द्र जात्राको उल्लास छैन ।

    पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको सम्बन्धलाई उजागर गरेको जानकारहरु बताउँछन् ।

     

    तस्वीर : गुगल

    प्रतिक्रिया दिनुहोस