२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

होटल क्षेत्रमा करिअर बनाउँदै सुमन रानाभाट

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ९२४ पाठक संख्या
  • साना साना नानी बाबुहरूलाई तिमि ठुलो भए पछि के बन्ने ? भनेर सोध्दा डाक्टर, इन्जिनियर, शिक्षक, पाइलट यस्तै यस्तै नामहरू अगाडी आउँछन् । धुलिखेल नगरपालिका वडा नं ९ रानाछापका सुमन रानाभाटको मुखबाट यस्तो प्रश्न सोध्दा आर्मी बन्ने भन्ने उत्तर आउँथ्यो ।

    आफ्नो उमेर हद कायम रहुन्जेलसम्म प्रयास नगर्नुभएको पनि होइन । क्याडेटको लागि धेरै प्रयास गर्दा पनि असफल भए पछि अरू नै सफलताको बाटो रोज्ने उहाँको निर्णय अहिले सफल भएको छ । अहिले उहाँ सफल होटल व्यवसायिको नामले चिनिनुहुन्छ । वर्षेनी लप्टनको लागि तयारी गर्दै फर्म भरेर खेर जाने समयलाई अहिले उहाँले होटल ब्यवसायमा खर्चिनु भएको छ । केही वर्षदेखि लप्टनको लागि भौतारिनुभएको उहाँ अहिले २ वर्षमा नै ६ जनालाई रोजगारी दिँदै होटलको मालिक बन्नुभएको छ । रानाभाटले धुलिखल ९ मा धुलिखेल हाईट रिसोर्ट सञ्चालन गर्नुभएको छ ।

    सानै उमेरमा नै व्यवसाय सुरू गरे मात्र सफल हुन सकिन्छ भनिन्छ । तर ‘प्रतिभा उमेरको ताज होइन’ भने जस्तै आफु भित्र केही गरेर देखाउने जुनुन छ भने उमेरले केही फरक पर्दैन । यो कुरालाई सावित गरेर देखाउनुभएको छ रानाभाटले । २७ वर्षको उमेरमा होटल व्यवसाय सुरू गर्नुभएको रानाभाटलाई लप्टनको लागि भन्दा पनि अरू नै केही व्यवसाय सुरू गर्न पहिले देखी नै सल्लाह सुझाब दिने गर्थे । तर आफ्नो सपना पुरा गर्ने तर्फ लाग्दा केही समय व्यथित भएकै हो । रानाभाट भनुुहुन्छ, ‘अहिले म थोरै समयमा नै व्यवसायमा सफल भएको छु । यसमा म खुसी पनि छु । व्यवसायमा सन्तुष्ट पनि छु । मेरो होटलमा मानिसहरूले धेरै आउने र रूचाउनुको कारण स्थानीय स्तरमा नै पाईने खानेकुरा हो । यहाँको रमणीय वातावरणको कारण पनि मानिसहरू फर्की फर्की आउने गनुभएको छ । समूहमा धेरै जना आउने भएको हुदाँ हामीलाई पनि फाईदा पनि हुने गरेको छ ।

    स्नातकसम्मको अध्ययन सक्नु भएका रानाभाटले होटल व्यवस्थापन विषय नै अध्ययन गर्नुभएकाले व्यवसायमा थप सहज भएको भनाइ छ । उहाँले आफ्ना ठाउँका अरू युवारूलाई पनि व्यवसायमा लाग्नका लागि उत्प्ररित गरिरहनुहुन्छ । युवाहरूको लागि रानाभाट उत्प्रेरणको स्रोत पनि हुनुहुन्छ ।

    नेपालमा नै केही गर्ने सोचका साथ काम गरिरहेको छु । रानाभाट थप्नुहुन्छ, ‘तर स्थानीय तहहरूको यसमा अझैँ सहयोग भने हामीलाई धेरै नै राहत हुने थियो । हाम्रो ठाउँमा खानेपानिको पनि अलि समस्या भएको हुँदा स्थानीय तहले यसको समाधान खोजिदिए हुन्थ्यो । बरू सकेको सहयोग हामी पनि गर्ने थियौँ । अहिले आम्दानी ठप्प नै छ । हुन त यो आफ्नै व्यवसाय भएको हुँदा मलाई म यो कोरोनाको महामरी अलि हट्दै गए पछि अझैँ राम्रो गर्दैै जाने छु भन्ने त लागिरहेको छ । मैले हार मानेको छैन ।’ कोरोनाको कारण अधिकासं होटल व्यवसायिलाई निकै असर परेको छ । रानाभाटले पनि निकै समय होटल बन्द गर्नुभयो । अहिले भने केही दिनदेखि होटल खोलिरहनुभएको छ । कोरोनाको महामारी भित्रनु भन्दा पहिलेसम्म उहाँकहाँ काम गर्ने कामदार ६ जना थिए तर अहिले ३ जना मात्र बाँकी छन् ।

    अहिले अवस्था केही साम्य भए पछि भने पहिलेकै जसरी काम गर्ने उहाँ बताउनुहुन्छ । अझैँ धेरै स्थानीयलाई नै रोजगार दिने उहाँको लक्ष्य पनि रहेको छ । अझै ६ जना कामदार थप गर्नको लागि उहाँले तयारी गरिरहनुभएको छ । युवाहरूले व्यवसायिक क्षेत्रमा काम गर्ने हो भने धेरै नै सम्भावना रहेको उहाँ बताउनुहुन्छ । ‘विदेशमा भन्दा नेपालमा सम्भावना छ । यस्तै आफ्नै ठाउँमा बसेर कृषिको मात्र प्रवद्र्धन गर्ने हो भने पनि आम्दानीको स्रोत जताततै छ । मैले पनि नेपालमा केही गर्न सकिदैँन भन्ने सोचेको थिए । उहाँ थप्नुहुन्छ, अहिले मैले थोरै समयमा पनि राम्रो कमाई गर्न सफल भएको छु । तपाई पनि सुरू गर्नुस् । सुरूवात नै नगरी केही गर्न सकिएन भन्नु भएको चाहीँ निकै लाजमर्दो कुरा हो ।’

    पछिल्लो समय युवा पुस्ताको आकर्षणको केन्द्रविन्दु भनेको विदेश हो । नेपालमा बसेर केही गर्न सकिदैँन भन्ने मानसिकता कहि न कहि सबैमा छ । तर २९ वर्षीय रानाभाटले भने नेपालमा नै बसेर काम गर्नको लागि सल्लाह सुझाव दिनुभएको छ । अरूको जागिरभन्दा आफ्नो व्यवसाय सुरू गर्दा अझैँ धेरै राम्रो हुने उहाँको अनुभव पनि छ । २ जना दाजु र १ जना दिदीपछिको कान्छो छोरा भएकाले सबैको मायाँ पाएकाले पनि आफुलाई व्यवसायमा सफल भएको उहाँ बताउनुहुन्छ ।
    रानाभाट अहिले धुलिखेलमा नै अवस्थित एक सहकारीको व्यवस्थापकसमेत हुनुहुन्छ ।

    सहकार्यमा नेपालथोकमा अर्को पनि एउटा रिसोर्टको सुरूवात गर्नुभएको छ । विभिन्न क्लबमा सक्रिय रानाभाट सामाजिक कार्यमा पनि उत्तिकै रूचि राख्नुहुन्छ । ८० लाखको लगानी रहेको उहाँको होटलबाट अहिले सबै खर्च कटाएर ५० लाखसम्म आम्दानी हुने गरेको छ ।

    १५ लाखबाट सुरू गर्नुभएको होटलको लागि उहाँले विभिन्न योजनाहरू पनि बनाइरहनुभएको छ । ‘मेरो होटल अहिले आफ्नै जग्गामा छ । मेरोसँगै जोडिएको सार्वजनिक जग्गा छ । अहिले पर्यटन सम्बन्धि नै सरकारको एउटा कार्यक्रम पनि रहेको छ । यही कार्याक्रम अन्तर्गत म कानूनी प्रकृयामा नै गएर त्यसको सदुपयोग गर्ने तयारीमा छु ।

    त्यसपछि मैले कृषि फार्म नै सुरूवात गर्ने पनि योजना बनाएको छु । लोकल कुखुरा, हाँस र माछापालनको पनि मैले तयारी सुरू गरिसकेको छु । यहाँ चिल्ड्रेन पार्क बनाउने तयारी पनि गर्दै छु । टेन्ट हाउस पनि बनाउँदै छु । बनाएका योजना सबैमा सफल भइन्छ भन्ने त हँुदैन तर जति सक्छु म तयार गरिरहन्छु ।’

    अहिलको युवा पुस्ताको लागि रानभाट उदाहरणको पात्र हुनुहुन्छ ।

    पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस