२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

स्वास्थ्य सामग्री खरिदको अनियमितता र विवादमा मुछिएको ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३७५ पाठक संख्या
  • सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिदको अनियमितता र विवादमा मुछिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई तत्कालका लागि कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओबीसीआईलाई तत्कालका लागि कालोसूचीमा नराख्नु भनी आदेश जारी गरेको हो ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौं २९ गते ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध ओम्नी गत शुक्रबार सर्वोच्च अदालत गएको थियो । ओम्नीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

    कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य सामग्री आपूर्ति गर्नुपर्ने आपूर्तिकर्ता ओम्नीले समयमा सामान नल्याएको भन्दै स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षको लागि कालोसूचीमा राखेको थियो । ओम्नीले तीन लटमा करिब १ अर्ब २५ करोड बराबरको सामग्री आयात गर्नको लागि सम्झौता गरेको थियो । पहिलो लटमा ७५ हजार परीक्षण किटसहितको सामग्री दुई दिनभित्र ल्याउने प्रतिबद्धता जनाएपनि करिब १० प्रतिशत मात्र सामान ल्याएको थियो ।

    विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठले गत चैत १९ गते आयोजित पत्रकार सम्मेलनमा ओम्नीले स्वास्थ्य सामग्री ल्याउन नसकेको र ल्याएको सामान पनि गुणस्तरहीन भएको भन्दै धरौटी जफत गरी कालोसूचीको सिफारिस गर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस