२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ढाकाको तानमा उनिएका रमाका खुशीहरू

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६१७ पाठक संख्या
  • रमा सापकोटा, ढाका कपडा बुनाइकर्ता
    भुम्लु गाउँपालिका वडा नं ८

    जे हुन्छ, राम्रैको लागि हुन्छ । यही सोचका साथ भुम्लु गाउँपालिका वडा नं ८ का रमा सापकोटा अहिले ढाका बुनाइको काम गर्नुहुन्छ । नेपालमा धेरै नै रूचाईको कपडा हो ढाका । यो नेपालमा मात्र नभएर विदेशमा पनि राम्रो मुल्यमा बिक्रि हुने गरेको छ । ढाका बुनाइबाट नै सापकोटाले अहिले मासिक ३० हजारसम्म आम्दानी गर्नुहुन्छ । यो पेशाबाट सामान्य खर्च मात्र होइन पुरै घर खर्च नै टरेको उहाँ बताउनुहुन्छ । ढाका बुनाईको काम शुरू गर्नु पहिले उहाँले सामान्य घर धन्दा मात्र गर्नुहुन्थ्यो । दिनभरीको समय पनि त्यसै खेर जाने गरेको थियो । तर अहिले भने उहाँको दिनचर्या बिहानदेखि बेलुकासम्म ढाकाको तानमा नै बित्ने गरेकोछ ।
    ४३ वर्षीया सापकोटा भन्नुहुन्छ, ‘विद्यालय भनेको कस्तो हुन्छ भन्ने कुरा थाहा मात्र थियो । तर, कहिल्यै पाईला टेक्न पाईएन । मलाई विद्यालय जाने रहर नभएको भने होइन । आमा बुबालाई म पनि विद्यालय जान्छु भन्ने रहर नभएको पनि होइन तर के गर्नु आमा बुबालाई म पनि विद्यालय जान्छु भन्ने शब्द पनि सुनाउन पाईन किनभने उहाँहरू दुबै जनाले म सानो छँदा नै भगवानको घरमा बास लिइसक्नु भएको थियो ।’ आफ्नो बोलीलाई एकैछिन विश्राम दिंदै उहाँ फेरी बोल्नुहुन्छ, ‘मभन्दा माथि ४ जना दाजुहरू र २ जना दिदीहरू हुनुहुन्थ्यो । म कान्छि छोरी सबैको मायाँमा हुर्किएकी थिए । तर, घरको आर्थिक अवस्था भने निकै नै नाजुक भएको कारण मैले मात्र हाइन मेरा दाइ दिदीले पनि आफ्ना रहर मार्नु परेको थियो ।’

    सापकोटा ठट्याँैली पारामा फेरी विगत स्मरण गर्नुहुन्छ, ‘म ठूली हुदैँ गए घर नजिकैको एउटा केटा थियो । मलाई उ साह्रै मन पथ्र्याे तर भन्ने आट कहिल्यै आएन । एकदिन उसैले प्रेम प्रस्ताव राख्यो । मैले एकै पटकमा स्विकार गरें । मलाई मन परेको मरेको मान्छे जो थियो । हाम्रो सम्बन्ध सुरूवात भएको केही समयपछि मैले आँट घरमा जेठा दाइलाई भने । सबैले केटालाई चिनेको र सोझो छ भन्दै स्विकार गर्नुभयो । मेरो विहे भयो । विवाहको ५ बर्ष त म घर व्यवहार र बालबच्चा हुर्काउनमा नै व्यस्त भए । श्रीमान् विदेश जानु भएको थियो । छोराछोरी ठूला हँुदै गए । त्यसपछि मलाई सबै काममा सहज भयो । अनि मैले म पनि केही काम गर्नुपर्छ, घरखर्च टार्नको लागि श्रीमानलाई सहयोग गर्नुपर्छ भनेर सोच आउन थाल्यो तर के गर्ने कसो गर्ने मैले केही सोच्नै सकेको थिइन । न त मसँग के गर्ने भनेर आइडिया थियो न त हातमा कुनै सीप । मेरो सोच केही समय त सोचमा रहिरह्यो ।’

    संयोगवस सापकोटाले सीप सिक्न खोजेको समय र घरेलु कार्यालयले ढाका बुन्ने तालिम तयारी गरिरहेको समय मिल्यो । उहाँले आफु पनि तालिम लिन ईच्छुक रहेको बताउनुभयो र फाराम भर्नुभयो । ढाका बुन्नको लागि तान चलाउने देखी बजारिकरण कसरी गर्ने भन्नेसम्मको कुरा उहाँले तालिममा सिक्नुभयो । ३ महिनाको तालिम समापना भयो त्यसपछि भने सापकोटाको व्यवसायिक यात्रा सुरू भयो । ‘विदेशमा हुनुभएको श्रीमानसँग सल्लाह गरे ।’ उहाँले भन्नुभयो, ‘म ढाका बुनाइको व्यवसाय सुरू गर्छु भन्दा उहाँले जसरी तालिमका लागि छिट्टै सहमति जनाउनुभएको थियो त्यसैगरी नै व्यवसायको लागि पनि सहमति जनाउनुभयो । उहाँको सहमतिमा काम गरेको हँुदा मलाई खासै गारो पनि भएन । आर्थिक रूपमा सबै श्रीमानले नै हेर्नुभएको थियो । सुरूवातमा बजारिकरणमा मलाई घरेलुकै सर मिसले हेर्दिनुभयो । पछि मान्छे चिन्दै गएँ । उहाँहरूसँग व्यापारिक सम्बन्ध राम्रो हँुदै गयो । अहिले बजार पनि म आफैँ खोज्न सक्छु । झन अहिले त मेरो व्यापार क्षेत्र नेपाल मात्र नभएर विदेशमा पनि हुने गरेको छ । विदेशमा पनि मैले उत्पादन गरेको ढाका राम्रो मुल्यमा माग हुने गरेको छ ।’ विशेष गरी आफुले चिनजान र व्यापारिक सम्बन्ध भएकाहरू सबैलाई बेचेर बाँकी बसेकाहरू उहाँले काठमाडौँका विभिन्न बुटिकहरूमा पठाउने गर्नुभएको छ । उत्पादन गरिसकेपछि बिक्रि हँुदैन कि भन्ने चिन्ता पनि हँुदैन ।

    उहाँको काम कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको लकडाउनको बेलामा पनि रोक्किएन । तान चलिरह्यो । आम्दानी भईरह्यो । गाउँका तथा सहरका अधिकांश मानिसको रोजगारी गुमेको बेला सापकोटाको व्यवसाय भने मौलाएको छ । ‘अघिपछि समयमा कता कता धाउँदैमा आधा दिन त्यसै जान्थ्यो ।’ सापकोटा आफ्नो दैनिकि सुनाउन सुरू गर्नुहुन्छ, ‘बिहानदेखी बेलुकासम्म मेरो दिन तानमा नै बित्ने गर्छ । कान्छो छारोको विद्यालय पनि बन्द छ । उसले पनि सहयोग गर्छ । अरू २ जना छोराछारीको पनि क्याम्पस बन्द भएका कारण घरमै छन् । घरको काम धन्दा उनीहरूले नै हेर्छन । एउटा भैसी र २÷४ वटा बाख्रा छन् । त्यसको सबै काम छोराछोरीले नै गरिरहेका छन् । मलाई त झन अहिलेको त सजिलो भएको छ त ।’

    सापकोटाले केही समयमा नै काम गर्न चाहनेलाई ढाका बुन्न सिकाउने सोच बनाउनुभएको छ । विशेष गरी अहिलेको अवस्थामा गृहिणीहरू कोही सिक्न आएमा म थोरै पैसामा पनि सिकाउनको लागि तयार छु । उहाँ भन्नुहुन्छ, ‘मैले जसरी अहिले श्रीमानसँग खर्च माग्नु परेको छैन त्यसैगरी अरूको स्तमा बृद्धि गराउने लक्ष्य छ मेरो । योजनाहरू बनाइरहेको छु हेरौँ कत्तिको सफल हुन्छु । राम्रो काम गर्ने मान्छे पाएँ भने म कामदार नै पनि राख्ने सोचमा छु । मलाई बजारको कुनै चिन्ता छैन ।’ श्रीमानले कमाएको सबै बचत हुन्छ । जे हुन्छ, राम्रैको लागि हुन्छ यही सोचेर विगतको सयम बिताएँ अब भविष्यका योजना पनि यसरी नै बनाउँदै छु ।’ कोरानाको महामारी सक्किएपछि श्रीमानलाई पनि नेपालमा नै बोलाएर ढाका बुनाईको काम दुबै मिलेर गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

    काभ्रेबाट हरेक शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस