२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

चिउरा, दालमोठ, गुँदपाक र पुष्टकारीजस्ता नेपाली परम्परागत खाद्यको गुणस्तर तोकियो

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११२६ पाठक संख्या
  • नेपाली बजारमा रारा चाउचाउको प्रवेशसँगै परम्परागत रुपमा उपलब्ध भइरहेको मौलिक तयारी खाजा (फास्टफुड) चिउरा र दालमोठलाई मानिसहरुले क्रमशः भुल्दै गए । भर्खरै भित्रिएको नौलो, चिटिक्कको प्याकेट र आकर्षक रङ्गमा पाइने धेरै खाले इन्स्ट्यान्ट नुडल्स(चाउचाउ)ले नेपालीलाई अल्छीमात्रै बनाएन । खाना र खाजाको पर्याय नै बदलिदियो । के बालक के वृद्ध सबैको रोजाईमा पर्दै गयो । त्यतिखेर बाह्रमज्जा र दालमोठका रुपमा चिनिने नुनिलो खाजा पनि भारतीय ब्राण्डका भुजिया र अनेकथरि दालमोठहरुले बिस्थापन गर्दै लग्यो । कुटील मिठाई व्यापारीहरुको कुदृष्टिमा परेपछि राजधानीबाट मेचीदेखि महाकालीसम्म कोशेलीका रुपमा लगिने र मगाइने नेपाली परम्परागत मिठाई गुँदपाक र पुष्टकारी त एकादेशका मिठाई भए । नयाँ पुस्ताले नामै नसुनेको मिठाईको अवस्थामा गुँदपाक र पुष्टकारी पुगिसके ।
    पछिल्लो समयमा नेपाली उपभोक्ताहरु पनि पुनः परम्परागत खाद्यको खोजीमा लागेका छन् । रैथाने खाद्य, परिकार र मिठाईहरुको स्वाद खोज्ने क्रम पनि बढेको छ । यसै क्रममा नेपाल सरकारले नेपालका परम्परागत खाद्यहरु चिउरा, दालमोठ, गुँदपाक र पुष्टकारीको गुणस्तर निर्धारण गरेर भदौ २९ गतेको राजपत्रमा प्रकाशित गरिसकेको छ । अब यी खाद्य पदार्थहरुको मनलाग्दी ढंगले उत्पादन र व्यापार गर्न पाइने छैन । देशका अधिकांश भुभागमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ । पहिले पहिले गाउँघरमा दूध, दही मज्जाले पाइने हुँदा चाडपर्व र अतिथि सत्कारमा दही चिउरा नै प्रमुख खाद्य हुन्थ्यो । यही खाद्यको सम्मानमा असार १५ गते खोजी खोजी दही चिउरा खाएर परम्परालाई निरन्तरता दिने चलन यद्यपि रहेको छ । तर, बजारमा अनकेथरि ब्राण्डमा पाइने चिउरा सडेको, गन्हाएको, घुन लागेको, धुलो परेको, कोही रातो त कोही कालो एवं धानको बियाँसहितका तथा चपाउने साह्रो हुने भेटिने क्रम यद्यपि छँदैछ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालीन महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपाल सरकारले नेपालका परम्परागत खाद्यहरु चिउरा, दालमोठ, गुँदपाक र पुष्टकारीको गुणस्तर निर्धारण गर्ने निर्णयसँगै नेपालमा पहिलोपटक परम्परागत खाद्यको गुणस्तर तोक्ने सिलसिलाको पनि सुरुआत भएको जानकारी दिनु भयो । विभागका खाद्य वैज्ञानिकहरुले चिउरालाई मानवीय खाद्य प्रयोगको वस्तुको रुपमा परिभाषित गरेका छन् । नयाँ गुणस्तर मापदण्डले ढिकी, ओखल र आधुनिक मिलबाट उत्पादन हुने सबै खालका चिउरालाई समेटेको छ । स्वच्छ धानलाई तातो वा चिसो पानीमा आवश्यकताअनुसार निश्चित समयसम्म भिजाई पानी निखारेर कुटिएको हुनु पर्ने र यसलाई सामान्य चिउरा भनिने मापदण्डमा उल्लेख छ । यस्तै कराही वा आधुनिक ओभनमा पुनः भुटेर चिउरामा भएको जलांशको मात्रा घटाई ‘रोष्टेड’ चिउराको रुपमा भुटेको चिउरा पनि गुणस्तर मापदण्डमा परेको छ ।

    नयाँ मापदण्डअनुसार चिउरा अब सग्लो हुनुपर्ने, रङ्ग र आकार समान हुनु पर्ने, फोहोर, दाग, गन्ध एवं ढुसी तथा कीराबाट निष्कासित पदार्थ चिउरामा हुनुहुँदैन । चिउरामा कुनै पनि बाह्य रङ्ग प्रयोग गर्न पाइनेछैन भने चिउरामा चिस्यान(मोइस्चर)को मात्र बढीमा १३ प्रतिशत र सुख्खा तौलको आधारमा कुल भष्म प्रतिशत (अंश) बढीमा १ दशमलव ३ प्रतिशतमात्रै हुनु पर्नेछ । चिउरामा ढुङ्गा, बालुवा, माटो, भूस, चोकर, परालका टुक्रा मिसिएको हुन नहुने उल्लेख छ । अरु खाद्य पदार्थको झैं चिउराको उत्पादन, प्रशोधन, प्योकजिङ, ह्याण्डलिङ, भण्डारण तथा ढुवानीसमेत कृषि मन्त्रालयले तोकेबमोजिम खाद्य स्वच्छता सम्बन्धी मापदण्डअनुसार हुनुपर्नेछ । चिउरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्योकजिङ झोलामा राम्रोसँग शिलप्याक गरी खाद्य नियमावली २०२७ बमोजिम चिउराको लेबुलमा विवरण उल्लेख गर्नु पर्ने भनि गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ । अब बिना लेबुलमा चिउरा बेच्न नपाइने भएको छ । यो मापदण्ड पुरा नभएको चिउरा उत्पादन र बिक्री गर्नेलाई कसूर हेरी विभागले दूषित खाद्य पदार्थ र न्यून गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा कारवाही चलाउने भएको छ ।

    यस्तै, न्यूरोडलाई चिनाउने र सबैको मन पर्ने कोशेली गुँदपाक काठमाडौं बाहिर खासै बन्दैन थियो । अब त गाउँ गाउँमा खुलेका डेरी र मिठाई पसलहरुले समेत बनाउन थालेका छन् । एकताका सबैले भुलेको मिठाई अब जताततै कोशेली बन्ने क्रममा रहेको छ । दुधको प्रमुख खपत हुने गुँदपाकलाई पनि गुणस्तर मापदण्डले समेटेको छ । मापदण्डमा गुँदपाक भन्नाले घिउमा सख्खर वा चिनीजन्य पदार्थ, दूध, खुवा, गुँद(खानयोग्य), सुकाएको फलफूल, काजु, बदाम, छोकडा, नरिवल, पिस्ता, ल्वाङ, सुकुमेलजस्ता मसला मिसाइ बाक्लो हुने गरी पकाएर वनस्पतिको खानयोग्य बिँया राखी वा नराखी तयार पारिएको खुवामा आधारित नेपालको परम्परागत दुग्धजन्य प्रशोधित खाद्य पदार्थलाई सम्झनु पर्छ भनिएको छ । विगतमा चलेको कहावत ‘मिठाई पसलेले आमा खुवाउने औंशीमा नबिकेको मिठाई बा खुवाउने औंशीमा र त्यसमा नबिकेमा गाईतिहारे औंशीमा र त्यो बेला पनि नबिके रिसाइकल(पुनप्र्रयोग) गरेर गँुदपाक बनाउँछन्’ भन्ने थियो । विभागको क्रियाशीलताले खाद्य सचेतनासँगै यस्तो कुकृत्य बिस्तारै हटेको थियो । तैपनि गुँदपाक खाद्य स्वच्छताका हिसाबले बन्ने गरे नगरेको नियमन गर्ने स्पष्ट मापदण्ड बनेको थिएन ।

    नयाँ मापदण्डले गुँदपाकमा स्वाभाविक खैरो (क्यारामेल) रङ्ग, चारित्रिक स्वाद, नरमपना र बास्ना हुनु पर्ने उल्लेख छ । यसमा कुनै पनि प्रकारको वनस्पतिजन्य घिउ–तेल प्रयोग नभएको साथै अस्वाभाविक गन्ध, स्वाद र बाह्य पदार्थरहित हुनु पर्ने उल्लेख छ । गुँदपाकमा बढीमा चिसोपना(मोइस्चर) २५ प्रतिशत, सुख्खा तौलको आधारमा चिल्लो पदार्थ घटीमा ८ प्रतिशत, सुख्खा तौलको आधारमा प्रोटिन घटीमा ८ प्रतिशत हुनु पर्नेलगायत अन्य मात्राहरु उल्लेख छ । मापदण्डले एक पटक उत्पादन भइसकेको दुग्धजन्य वा अन्य प्रकारका मिठाई पुनः प्रयोग गरी गुँदपाक बनाउनमा बन्देज लगाएको छ । यसले आम उपभोक्तामा मिठाई रिसाइकल भएर गुँदपाक बन्दैन भन्नेमा आशा पलाएको छ । अरु खाद्य पदार्थको झैं गुँदपाकको उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्याण्ड्लिङ, भण्डारण तथा ढुवानीसमेत कृषि मन्त्रालयले तोकेबमोजिम खाद्य स्वच्छता सम्बन्धी मापदण्डअनुसार हुनुपर्नेछ । गुँदपाकलाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्री(मेटेरियल)मा शिलप्याक गरी खाद्य नियमावली २०२७ बमोजिम गुँदपाकको लेबुलमा विवरण उल्लेख गर्नु पर्ने खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ । अब बिना लेबुलमा गुँदपाक बेच्न नपाइने भएको छ । यो मापदण्ड पुरा नभएको गुँदपाक उत्पादन र बिक्री गर्नेलाई कसूर हेरी विभागले दूषित खाद्य पदार्थ र न्यून गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा कारवाही चलाउने भएको छ ।

    यसैगरी नेपाली परम्परागत खाद्य पुष्टकारीमा समेत मापदण्ड लागू भएको छ । मापदण्डमा पुष्टकारी भन्नाले चिनी, सख्खर वा चिनीजन्य पदार्थमा खुवा, दूध र घिउ राखी नरिवल, सुकाएका फलफूल, ल्वाङ, सुकुमेल, दालचिनीजस्ता मसला राखी वा नराखी खैरो रङ्ग र बास्नाको विकास हुने गरी उच्च तापक्रममा पकाई सामान्यतः स–साना आकारमा तयार पारिएको नेपालको परम्परागत दुग्धजन्य खाद्य पदार्थलाई सम्झनु पर्छ भनिएको छ । नयाँ मापदण्डले पुष्टकारीमा स्वाभाविक खैरो (क्यारामेल) रङ्ग, चारित्रिक स्वाद, कडापना र बास्ना हुनु पर्ने उल्लेख छ । यसमा कुनै पनि प्रकारको वनस्पतिजन्य घिउ–तेल प्रयोग नभएको साथै अस्वाभाविक गन्ध, स्वाद र बाह्य पदार्थरहित हुनु पर्ने उल्लेख छ । पुष्टकारीमा बढीमा चिसोपना(मोइस्चर) ६ प्रतिशत, सुख्खा तौलको आधारमा चिल्लो पदार्थ घटीमा ८ प्रतिशत, सुख्खा तौलको आधारमा प्रोटिन घटीमा ८ प्रतिशत हुनु पर्नेलगायत अन्य मात्राहरु उल्लेख छ ।

    मापदण्डले एक पटक उत्पादन भइसकेको दुग्धजन्य वा अन्य प्रकारका मिठाई पुनः प्रयोग गरी पुष्टकारी बनाउनमा बन्देज लगाएको छ । अरु खाद्य पदार्थको झैं पुष्टकारीको उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्याण्ड्लिङ, भण्डारण तथा ढुवानीसमेत कृषि मन्त्रालयले तोकेबमोजिम खाद्य स्वच्छता सम्बन्धी मापदण्डअनुसार हुनुपर्नेछ । पुष्टकारीलाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्री(मेटेरियल)मा राम्रोसँग शिलप्याक गरी खाद्य नियमावली २०२७ बमोजिम पुष्टकारीको लेबुलमा विवरण उल्लेख गर्नु पर्ने खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ । अब बिना लेबुलमा पुष्टकारी बेच्न नपाइने भएको छ । यो मापदण्ड पुरा नभएको पुष्टकारी उत्पादन र बिक्री गर्नेलाई कसूर हेरी विभागले दूषित खाद्य पदार्थ र न्यून गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा कारवाही चलाउने भएको छ । यसै गरी, मानव उपभोगका लागि प्रशोधन गरिएका सबै प्रकारका दालमोठमा पनि मापदण्ड लागू भएको छ । दालमोठ, भुजिया, मिक्स दालमोठको पनि आवश्यक गुणस्तर परिधिहरु तथा चारित्रिक गुणहरु तोएिको छ । दालमोठमा चिस्यान(मोइस्चर) बढीमा ५ प्रतिशत र सुख्खा तौलको आधारमा चिल्लो पदार्थ आलु भुजियाको हकमा बढीमा ५५ प्रतिशत र दालमोठ, भुजिया र मिक्स दालमोठको हकमा बढीमा ४५ प्रतिशत हुनुपर्ने मापदण्डमा छ । अरु खाद्य पदार्थको झैं दालमोठको उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्याण्ड्लिङ, भण्डारण तथा ढुवानीसमेत कृषि मन्त्रालयले तोकेबमोजिम खाद्य स्वच्छता सम्बन्धी मापदण्डअनुसार हुनुपर्नेछ । दालमोठलाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्री(मेटेरियल)मा राम्रोसँग शिलप्याक गरी खाद्य नियमावली २०२७ बमोजिम दालमोठको लेबुलमा विवरण उल्लेख गर्नु पर्ने भनि गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ । अब बिना लेबुलमा दालमोठ बेच्न नपाइने भएको छ । यो मापदण्ड पुरा नभएको दालमोठ उत्पादन र बिक्री गर्नेलाई कसूर हेरी विभागले दूषित खाद्य पदार्थ र न्यून गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा कारवाही चलाउने भएको छ ।

    हरेक बुधवार काभ्रेबाट प्रकाशन हुने पलाञ्चोक साप्ताहिकमा प्रकाशित समाचार

    प्रतिक्रिया दिनुहोस