रोशी गाउँपालिकाका युवाहरुलाई उद्यमी बनाउनको लागि रोशी गाउँपालिकाले लगानी सम्बन्धि सम्झौता गरेको छ ।
रोशी गाउँपालिका र विन्धबासिनी साकोस काभ्रेले कृषि र पशुपालनमा रोशीका युवालाई आकर्षित गराई व्यवसायी बनाउनका लागि व्याज अनुदान कार्यक्रम अन्तर्गत लगानी साझेदारी गर्ने सम्बन्धी सम्झौता भएको हो ।
गाउँपालिकाको कार्यालयमा भएको सम्झौतामा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा र विन्ध्यवासिनी साकोसका अध्यक्ष प्रदिप थापाबीच हस्ताक्षर भएको छ । सम्झौताको अवधि २०७८ असार मसान्त सम्म लागू हुने र लगानी भएको क्रण उठी नसक्ने अवस्थामा दुई पक्षको आपसी समझदारीमा सम्झौतामा नवीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।
उक्त सहमतिमा गाउँपालिकाका कम्तीमा ६० घरधुरीलाई विन्ध्यवासिनीले चालु आर्थिक वर्ष भित्र व्यवसायी बनाउन प्रति प्रति व्यवसायी ६ लाख ५० हजार सम्म लगानी गर्नुपर्नेछ । क्रण लगानीको व्याज वार्षिक ११.५५ प्रतिशत कायम हुने त्यसमध्ये १ प्रतिशत विन्ध्यवासिनीले, ५ प्रतिशत गाउँपालिका तथा बाँकी ५ दशमलब ५५ सम्बन्धित व्यवसायीले व्यहोर्ने गरी सम्झौता भएको छ ।
प्रत्येक वडाका ५ जनाका दरले कृषक छनौट गरिने र उनीहरुलाई कृषि र पशुपालनमा व्यवसायी बनाई आत्मनिर्भर बनाउने लक्ष्यले यो सम्झौता गरिएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले जानकारी दिए । उनका अनुसार व्यवसाय गर्दा दर्ता गरेरै सञ्चालन गर्नुपर्नेछ । गाउँपालिका अध्यक्ष लामाले कार्यक्रमको सफलता देखिएमा व्याज अनुदानका लागि विनियोजित गरेको २० लाखको सीमाभित्र रही व्यवसायी संख्या थप गरिने जानकारी दिए ।
ऋण लगानी गर्दा परियोजनाको प्रकृति हेरेर लगानी गर्ने, जग्गा धितो मूल्यांकन र पारिवारिक जमानतको आधारमा लगानी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए । कार्यक्रमले गाउँपालिका क्षेत्रमा रहेका युवा उद्यमीहरुका लागि सहयोग हुने उनको भनाई छ ।
विन्ध्यवासिनीका अध्यक्ष प्रदिप थापाले गाउँपालिकामा दर्ता भएको कृषि व्यवसायीलाई मात्र ऋण लगानी हुने र व्यवसायी छनौट गर्दा गाउँपालिकाले निर्धारण गरेको कृषि पकेट क्षेत्रलाई आधार मानेर गर्ने जानकारी दिए । सहकारीमा ऋणिले मासिक रुपमा निर्धारित व्याज र त्रैमासिक किस्ता बुझाउनु पर्ने साथै व्यवसायीले न्युनतम ऋण बराबरकै म्यादी जीवन विमा र पशु तथा बाली विमा गर्नु पर्ने त्यसको विमा शुल्कमा आंशिक रकम अनुदान दिन सक्ने थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस